दार्चुला-दार्चुलाको अपीहिमाल गाउँपालिका-२, दैभातका स्थानीयहरूले आफ्नो गाउँमा रहेका दुर्गम समस्याहरूको समाधानका लागि सरकारसँग ध्यानाकर्षण गरेका छन्। सुन्दर हिमाली गाउँ दैभात पुग्नका लागि अपिहिमाल-५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नु पर्ने बाध्यता रहेको छ। यहाँका स्थानीयहरू शिक्षा, स्वास्थ्य, पुल, सडक, यातायात र विद्युत् जस्ता आधारभूत सुविधाबाट वञ्चित छन्।

स्थानीय प्रकाशसिंह धामीले भने, “मकरीगाडबाट दैभात पुग्न सडक छैन, खच्चड हिँड्ने घोरेटो बाटोसमेत मर्मत नगरिएको छ। उकालो पैदलमार्ग मर्मत नगरी खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न समस्यामा पर्नु परेको छ। भरियामार्फत प्रतिकेजी ६० रुपियाँ तिर्नुपर्ने बाध्यता छ।”

“मकरीगाड बजारमा खाने नुन ५० रुपियाँ प्रतिकेजी पाइन्छ,” उनले भने, “तर ६० रुपियाँ ढुवानी भाडा तिरेर ११० रुपियाँ प्रतिकेजी नुनको मूल्य पुग्छ। यो स्थानीय समस्याको निवारण गर्न अत्यन्त आवश्यक छ।”

गाउँमा कक्षा ५ सम्मको विद्यालय मात्र छ र विद्यालयको भवन पनि पक्की छैन। कक्षा ६ देखि विद्यार्थीलाई घुसा, खण्डेश्वरी जानका लागि एक दिनको यात्रा गर्नु पर्छ। नजिकको विद्यालय नहुँदा विद्यार्थीलाई विद्यालय छोड्नुपर्ने वा गाउँबाहिर डेरा गरेर पढ्नुपर्ने बाध्यता रहेको छ।

स्वास्थ्य सेवामा पनि समस्या छ। स्वास्थ्य संस्थाको अभावले दैभातवासीलाई उपचारका लागि पूरै दिन हिँड्नुपर्ने बाध्यता छ। स्थानीय प्रकाश धामीले भने, “दैभातदेखि सकारसम्म झोलुङ्गे पुल निर्माण भएमा विद्यालय र स्वास्थ्य संस्था पुग्नको लागि एक डेढ घण्टामा छोटो समय लाग्नेछ।”

दैभातमा अहिलेसम्म विद्युत् सेवा पुगेको छैन। जिल्लाभरि विद्युतीकरण भइरहँदा पनि दैभातमा अझै बिजुली पुर्‍याउने काम भएको छैन। विद्युत् पोल ढुवानीमा समस्या भएको कारण राष्ट्रिय प्रसारण लाइनको विस्तारमा समस्या परेको स्थानीयहरूले बताएका छन्। यहाँका स्थानीयहरूले वडा कार्यालयसम्म पुग्नको लागि ३ घण्टा बढी हिँड्नुपर्ने र राम्रो बाटो नहुँदा वर्षौदेखि सास्ती भोग्नुपरेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय