दार्चुला – दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने सौका समुदाय चिसो बढ्न थालेपछि कुञ्चा सर्न थालेका छन्। व्यास गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिंह बोहराका अनुसार छाङरु र तिंकरमा रहेका सौका समुदायका बासिन्दाले भारतीय बाटो प्रयोग गर्दै सदरमुकाम खलंगा आउन थालेका छन्।
दार्चुलाको सदरमुकामबाट २८ कोष उत्तरमा पर्ने हिमाली गाउँ तिंकरका स्थानीय सौकाहरु आफ्नो सरसामान, बालबच्चा र गाईबस्तुसहित खलंगा आउन थालेका छन्। नेपालतर्फको बाटोघाटोको अभाव हुँदा भारतीय बाटो प्रयोग गरेर उनीहरु जिल्ला सदरमुकाम आइरहेका छन्। हिजोमात्रै छाङरुबाट एक-दुई कुञ्चा खलंगा पुगेका छन् भने तिंकरका कतिपय कुञ्चा भारतको गर्बाधार भन्ने ठाउँमा पुगेका छन्। बाँकी छाङरुका कुञ्चा अबको १०–१२ दिनमा सदरमुकाम आइपुग्ने तयारीमा छन्।
सौका समुदायका सदस्यहरुले भारततर्फको बाटो प्रयोग गर्दा धेरै समस्याहरुको सामना गर्नुपरेको बताएका छन्। उनीहरुले भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार झेल्नुपरेको र गाईबस्तुको क्वारेन्टाइन चेक गर्नुपर्ने बाध्यता रहेको जनाएका छन्। सौका समुदायको भनाइमा, नेपालतर्फ सहज बाटो भएको भए उनीहरु सजिलै आउन सक्थे। आगामी हप्ताभित्र व्यास गाउँपालिकाको सम्पूर्ण सौका समुदायको कुञ्चा सदरमुकाम आइपुग्ने तयारीमा रहेको उनीहरुले बताएका छन्।
वर्षमा एक मात्र खेती हुने यस क्षेत्रमा स्थानीयले उवा र नप्पल जस्ता अन्नबाली लगाउने गर्छन्। गत वैशाखको तेस्रो तथा चौथो सातामा लगाइएको अन्नबाली भित्र्याएर सौका समुदायले सदरमुकाम बसाई सर्न थालेका छन्। तिंकर र छाङरुका स्थानीय सौका गत वैशाखको दोस्रो र तेस्रो हप्तामा खलंगाबाट आफ्नो थातथलो फर्किएका थिए।
सौका समुदाय वर्षमा छ महिनासम्म तिंकरमा र छ महिनासम्म खलंगामा बस्ने परम्परालाई कायम राख्दै आएका छन्। नेपालमा दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायका १४० परिवार छाङरु र ७१ परिवार तिंकरमा बस्दै आएका छन्। आदिवासी जनजाति ब्याँसी सौकाहरुको मौलिकता, ऐतिहासिकता, र सांस्कृतिक पहिचानलाई जोगाउँदै यो समुदाय दार्चुलाको व्यास, राप्ला र सितोलामा परापूर्वकालदेखि बसोबास गर्दै आएको छ
