दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित गोकुलेश्वर मावि व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न १६ जनाले उम्मेदवारी दिएका छन्। शनिबार बसेको अभिभावक भेलामा अध्यक्ष पदका लागि सहमति जुट्न नसकेपछि १६ जनाले मनोनयनपत्र दर्ता गराएका हुन्। अभिभावक भेलाले अध्यक्षमा सहमति नगरेपछि मनोनयनको सूची शैल्यशिखर नगरपालिकामा पठाउने निर्णय गरिएको छ। चयन सहयोग समिति सदस्य एवं विद्यालयका प्रधानाध्यापक पीताम्बर विष्टले यसबारे जानकारी गराएका छन्।
उनका अनुसार गोकुलेश्वर माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदका लागि उम्मेदवारी दिनेमा विशेश्वरप्रसाद विष्ट, भानबहादुर विष्ट, इश्वरदत्त पाण्डेय, कालुबहादुर चन्द, किशौरराज विष्ट, कोमलराज विष्ट, लक्ष्मीप्रसाद जोशी, महेशराज विष्ट, महेशसिंह भण्डारी, प्रेमबल्लभ जोशी, पूर्णबहादुर विष्ट, रणबहादुर खत्री, रमेशचन्द्र भट्ट, उत्तरसिंह विष्ट, जगदीशबहादुर चन्द र उत्तरसिंह विष्ट रहेका छन्। शैल्यशिखर नगरपालिकाको शिक्षा नियमावली २०७४ को सातौं संशोधन अनुसार विद्यालय व्यवस्थापन समिति गठनमा सहमति नभए उम्मेदवारहरूमध्ये अध्यक्षको मनोनयन नगरपालिकाले गर्ने व्यवस्था रहेको छ।
