दार्चुला — सवारीसाधनमा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै दार्चुला जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मंसिर १२ गते व्यापक सवारी चेकजाँच अभियान चलाएको छ। चेकजाँचको क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ९ वटा भाडाका सवारीसाधनसहित १३ वटा सवारीसाधनलाई कारबाही गरिएको छ।
प्रहरीले सवारी चालकहरूका कागजात, सवारीको भौतिक अवस्था र यात्रु सुरक्षासम्बन्धी मापदण्डहरूको पनि अनुगमन गरेको थियो। ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि सवारीसाधनमाथि कडा कारबाही गरिने ट्राफिक प्रहरीले चेतावनी दिएको छ।
यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले यस्ता चेकजाँच कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
