दार्चुला: दार्चुला जिल्लामा आजदेखि चिसो हावासँगै वर्षा सुरु भएको छ। साथै, अपिहिमाल गाउँपालिका र व्याँस गाउँपालिकाको तिङ्करलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।
वर्षा र हिमपातका कारण चिसो बढेर जनजीवन प्रभावित भए पनि किसानहरू भने खुसी देखिएका छन्। धेरै समयपछि पानी परेकाले अन्नबालीका लागि यो लाभदायक हुने विश्वास स्थानीय किसानले गरेका छन्।
वर्षा र हिमपातले एकातिर चिसो बढाएर असहज परिस्थिति सिर्जना गरेको छ भने, अर्कोतिर खेतीका लागि यो समय सकारात्मक मानिएको छ। चिसोबाट जोगिन न्यानो लुगा लगाउन र स्वास्थ्यमा ध्यान दिन सबैलाई आग्रह गरिएको छ। साथै, अत्यावश्यक कामबाहेक घरबाहिर नजान सुझाव दिइएको छ।

