दार्चुला: दार्चुला जिल्लाको महाकाली लोकमार्ग अन्तर्गत दार्चुला सदरमुकाम जोड्ने महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीस्थित ठन्याकाठा भिरमा सडक स्तरोन्नतिका क्रममा गएको पहिरोका कारण विगत ५ दिनदेखि सडक अवरुद्ध छ। सडक अवरोधका कारण यातायात ठप्प हुँदा यात्रुहरू, स्थानीयवासी, सर्वसाधारण र विद्यार्थीले निरन्तर सास्ती भोग्नुपरेको छ।
सडक अवरोधले सदरमुकाम आवतजावत गर्ने यात्रुहरूको दैनिकीमा कठिनाइ थपिएको छ। पैदल यात्रा समेत जोखिमपूर्ण हुँदा विद्यालय जाने विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ। यस्तो परिस्थितिमा निर्माण कम्पनीले कामलाई तीव्रता नदिएकोप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघले प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीमार्फत निर्माण कम्पनीलाई तत्काल सक्रिय गराउन आग्रह गरेको छ।
नेविसंघ दार्चुला बहुमुखी क्याम्पस इकाइका अध्यक्ष प्रकाश बडुको नेतृत्वमा नरिसा कुंवर, तनिसा निरौला, पारस बडाल, बासु बडु र नमुना मावि इकाइका अध्यक्ष हिमाल पन्तसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो।
नेविसंघले अवरुद्ध सडकलाई चाँडो भन्दा चाँडो सञ्चालन गर्न थप मेसिन उपकरण र जनशक्ति परिचालन गरी कामलाई प्रभावकारी बनाउन अनुरोध गरेको छ। ध्यानाकर्षण पत्र बुझाउँदै, निर्माण कम्पनीलाई तदारुकताका साथ जिम्मेवारी पूरा गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशनात्मक पहल गर्न आग्रह गरिएको छ।
यस घटनाले सबै प्रभावितलाई सहज आवतजावत र दैनिकी पुनःस्थापित गर्न शीघ्र कदम चाल्ने अपेक्षा गरिएको छ।

