दार्चुला: दार्चुलाको मार्मा गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणद्वारा सुरु गरिएको विद्युत विस्तारको काम वर्षौं बितिसक्दा पनि पूरा हुन नसकेपछि स्थानीयबासीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय दीपेन्द्र डडालले प्राधिकरणका कर्मचारी र ठेकेदारहरूको कामप्रति कडा प्रश्न उठाउँदै भनेका छन्, “विद्युत प्राधिकरणको काम के हो? कर्मचारीहरूले केवल दिन कटाउने र भत्ता खाने मात्र काम गरेका छन् कि? पोलहरू गाडेको र तारहरू तानेको वर्षौं भइसक्यो, तर अझै विद्युत आपूर्ति सुरु भएको छैन। ट्रान्सफर्मर पोलमा राखिएको छ, तर बत्ती बल्न सकेको छैन।”
उनले थपे, “विद्युत मिटर जडान गरेको पनि एक वर्ष भयो। अहिलेसम्म महसुल तिर्ने स्थिति नै छैन। के प्राधिकरणका कर्मचारी मेरो घरको लाइन काट्न आउँछन्? यदि यस्तो अवस्थामा ममाथि कारबाही हुन्छ भने, झुटा आश्वासन दिने कर्मचारी र लापरवाह ठेकेदारमाथि पनि कारबाही हुनु आवश्यक छ।”

डडालका अनुसार, मार्मा वडा नम्बर ६ सम्मको विद्युत विस्तारको जिम्मा ने क पा एमालेका एक ठूला नेताले लिएका थिए। उनले नाम उल्लेख नगरे पनि भने, “तपाईंको पार्टी सरकारमा छ, मलाई कारबाही गर्न सक्छ। तर, कानुन ठेकेदार र नेताहरूलाई लागू हुँदैन? अहिलेको सरकार ठेकेदारहरूलाई बचाउन मात्र बनेको हो।”
विद्युत विस्तारका क्रममा ट्रान्सफर्मरलगायत सामग्रीको ढुवानी स्थानीयले जोखिम मोलेर गरेका थिए। “ढुवानी गरेको पनि महिनौं बितिसक्यो। पचासौँको सङ्ख्यामा स्थानीयले ज्यानको बाजी राखेर सामग्री पुर्याएका हुन्। तर, मेहनतको कुनै मूल्य छैन। ढुवानी खर्च पनि तिर्इएको छैन,” डडालले भने।
उनले सरकार र प्राधिकरणमाथि गम्भीर ध्यानाकर्षण गराउँदै ठगी गर्ने कर्मचारी र ठेकेदारलाई कारबाहीको माग गरेका छन्। “यो समस्या केवल हाम्रो मार्मा गाउँपालिकामा मात्र हो कि नेपालभरकै हो, बुझ्न सकिएको छैन।”
यस विषयमा नेपाल विद्युत प्राधिकरण र सम्बन्धित ठेकेदारको तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन। स्थानीयले अब तत्काल विद्युत आपूर्ति गर्न नसके कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्।
