
दार्चुला: दार्चुला, प्रेस सेन्टर नेपालको छैठौं जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले हरि प्रसाद जोशीलाई पुनः अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।
अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज राम सिंह ठगुन्नाले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको हकहित, र दिगो सञ्चार प्रणालीको विकासमा प्रेस सेन्टरको भूमिकाबारे प्रकाश पारे। उनले सञ्चारक्षेत्रमा आइपर्ने चुनौतीहरू सामना गर्न एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक पदम राज पन्तले पत्रकारितामा निष्ठा र पारदर्शिताको महत्वमा जोड दिएका थिए। साथै, प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष भुवन बोहरा, केन्द्रीय सदस्य मदन राज जोशी, नेपाल पत्रकार महासंघ दार्चुला अध्यक्ष राजेन्द्र सिंह धामी, प्रेस युनियन दार्चुला अध्यक्ष कमल राज जोशी, प्रेस चौतारी नेपाल दार्चुला अध्यक्ष लोकेन्द्रप्रसाद जोशीलगायतको उपस्थिति रहेको थियो।
अधिवेशनले हरि प्रसाद जोशीको अध्यक्षतामा उपाध्यक्ष उपेन्द्र सिंह ठगुन्ना र सारंगी खत्री, सचिव लोकेन्द्र डागा (मिस्रा), सहसचिव पुजा डोबाल र पार्वती साउँद, कोषाध्यक्ष नरेश प्रशाद जोशीसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
पुनः अध्यक्षमा निर्वाचित हरि प्रसाद जोशीले प्रेस सेन्टरलाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। उनले पत्रकारहरूको अधिकार संरक्षण तथा स्वतन्त्र सञ्चारको विस्तारका लागि कार्यसमिति क्रियाशील रहने बताए।
कार्यक्रममा पत्रकारिताको वर्तमान चुनौती, प्रेस स्वतन्त्रता, र दार्चुलामा सञ्चार क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै विभिन्न प्रस्तावहरू पारित गरिएका छन्। अधिवेशनले पत्रकारितामा नवीन सोच र प्रभावकारी कार्यसम्पादनमार्फत क्षेत्रीय पत्रकारहरूको मनोबल उच्च राख्न ध्यान दिने प्रतिवद्धता व्यक्त गरेको छ।