
दार्चुला: दार्चुला, महाकाली नगरपालिका–९ दत्तुमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण हेडक्वाटरको सहयोग र वडा कार्यालयको समन्वयमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ।
२४औँ सशस्त्र प्रहरी दिवसको अवसरमा महाकाली लोकमार्गको छेउमा सीघ्र प्रभाव आयोजनाअन्तर्गत प्रतिक्षालय निर्माण गरिएको सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वाटरका गणपति हर्क राज पन्तले जानकारी दिनुभयो। दैनिक यात्रामा रहेका यात्रुहरूलाई सुविधाजनक बनाउन यो प्रतिक्षालय बनाइएको हो।
यात्रु प्रतिक्षालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले गर्नुभएको थियो। उहाँले उक्त प्रतिक्षालयले यात्रुहरूको आवतजावतमा ठूलो सहयोग पुर्याउने बताउनुभयो।
सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिरले संचालन गरेको कार्यक्रममा महाकाली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गजेन्द्र कार्की तथा स्थानीय व्यक्तिहरूले सशस्त्र प्रहरीको योगदानको प्रशंसा गरे।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, औद्योगिक सुरक्षा, सीमापार अपराध नियन्त्रण, प्राकृतिक प्रकोप उद्धारजस्ता जिम्मेवारीसँगै सामाजिक कार्यहरूमा सक्रियता देखाउँदै आइरहेको छ। यसै अवसरमा दार्चुलामा सीमाबासीका लागि स्वास्थ्य शिविर र कपाल काट्ने तालिमजस्ता कार्यक्रम पनि सञ्चालन गरिएको छ।