
दार्चुला: बिहीबार बिहान ९:३० बजे दार्चुलाको मालिकार्जुन गाउँपालिका-८, थकतोलीमा बस र जीप एकआपसमा ठोक्किँदा सामान्य क्षति भए पनि कुनै मानविय क्षति नभएको जानकारी प्राप्त भएको छ।
महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना ८ ख ६१३१ नम्बरको बस, जो ३५ वर्षीय चालक भिम सिंह भण्डारीले चलाइरहेका थिए, ओरालोमा चिप्लिएर बिपरीत दिशाबाट आइरहेको से १ ज १११० नम्बरको जीपसँग ठोक्किएको हो। जीप गोकुलेश्वरतर्फ जाँदै थियो, जसलाई गगन धामीले चलाएका थिए।
ठक्करका कारण जीपको अगाडिको भागमा सामान्य क्षति पुगेको छ भने बस सडकको नालीमा अड्किएको छ। यात्रुहरू भने सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ।