दार्चुला: दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका अन्तर्गत लटिनाथ आधारभूत विद्यालय, बरमुडेमा बालविकास कक्षाका लागि पालिकाले दुई जना सहजकर्ताको नियुक्ति गरेको छ। विद्यालयमा जम्मा सात जना विद्यार्थी रहेको अवस्थामा समेत भौगोलिक विकटताका कारण न्यौटे बस्तीका बालबालिका शिक्षाबाट वञ्चित भइरहेका छन्।
न्यौटे बस्ती विद्यालयबाट दुई घण्टाको पैदल दूरीमा रहेको छ। उक्त बस्तीका बालबालिका ८–९ वर्षको उमेरमा मात्र विद्यालयमा भर्ना हुने गरेका छन्। तर, लटिनाथ विद्यालयदेखि बढीमा १० मिनेटको दूरीमा पर्ने भेरेखोला बस्तीमा भने बिनाबिद्यार्थी बालविकास कक्षा सञ्चालन भइरहेको छ।
२०८० साल बैशाखदेखि अहिलेसम्म उधारो तलबमै मालिकार्जुन बालविकास केन्द्र, भेरेखोलामा बालविकास सहजकर्ता राजमति ठगुन्ना साउदलाई पालिकाले म्याद थप गरेर निरन्तरता दिएको छ। उक्त केन्द्रमा हालसम्म एउटा विद्यार्थी पनि छैन।
यसबीच, २०८१ साल असारमा न्यौटे बस्तीका लागि भूमिराज बालविकास केन्द्रका लागि सहजकर्ताको नियुक्तिका लागि पालिकाले अनुमतिपत्र जारी गरेको थियो। तर, साउन महिनामै पालिकाले सो केन्द्रको कोटा कटौती गर्यो, जसका कारण विकट बस्तीका बालबालिका शिक्षाबाट थप वञ्चित भएका छन्।
यस्तो भेदभावले नजिकका बालबालिका सुविधा पाउन नसक्दा टाढाका बस्तीका बालबालिकाको शिक्षाको अवसर झनै कठिनबनेको छ।
