दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मा रहेको लटिनाथ आधारभूत विद्यालय, बरमुडेले शैक्षिक अनियमितताका गम्भीर घटनाहरू सार्वजनिक गर्दै आएको छ। विद्यालयले बालविकास कक्षाका दुई जना सहजकर्ता शिक्षकलाई टिकाइराख्नका लागि उमेर समूह नपुगेका र आवश्यकता भन्दा बाहिरका बालबालिकालाई विद्यालयमा भर्ना गरेको छ। यहाँ ७/८ वर्षका भन्दा माथिका र २/२.५ वर्षभन्दा कम उमेरका बालबालिकालाई समेत बालविकास कक्षामा समेटिएको छ।

विद्यालयले न केवल उमेर समूहको मापदण्डको अवहेलना गरेको छ, तर ट्रान्सफर भइसकेका र विद्यालय छोडिसकेका विद्यार्थीहरूको नामसमेत हाजिरी रजिस्टरमा कायम राखेर शिक्षकको व्यवस्थापनलाई झुटको आधारमा अघि बढाइरहेको छ। यसले शैक्षिक क्षेत्रको पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

लटिनाथ विद्यालय नजिकैको भेरेखोला बस्तीमा हाल कुनै पनि विद्यार्थी नभएको मालिकार्जुन बालविकास केन्द्र स्थापना गरिएको छ। शैल्यशिखर नगरपालिकाले २०८० साल बैसाखमा यो केन्द्र सञ्चालन गर्न राजमति ठगुन्ना (साउद) लाई सहजकर्ताका रूपमा नियुक्त गरे पनि उनी दुई वर्षदेखि उधारो तलबमै काम गर्न बाध्य छन्। नगरप्रमुखले कहिले दशैँमा तलब दिने आश्वासन, कहिले गौरा पर्वमा दिने वाचा गरे पनि अहिलेसम्म समस्या समाधान भएको छैन।

यसबीच, लटिनाथ विद्यालयले आफ्ना दुई बालविकास सहजकर्ता शिक्षकहरूको जागिर जोगाउन एउटै विद्यार्थीको नाम दुईवटा विद्यालयको हाजिरी रजिस्टरमा देखाएको तथ्य सार्वजनिक भएको छ। शिक्षाको गुणस्तर र पारदर्शितालाई बलियो बनाउनुपर्ने विद्यालय आफैंले यस प्रकारको अनियमित गतिविधि सञ्चालन गर्नु शैक्षिक प्रणालीप्रतिको विश्वासमाथि गम्भीर प्रहार हो।

सम्बन्धित निकायले यस घटनामा चासो दिएर छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न आवश्यक छ। यस्तो घटनाले शिक्षा क्षेत्रको नैतिकता र पारदर्शितालाई गम्भीर रूपमा असर पुर्याउने भएकाले समयमै सुधारको पहल गर्नु अत्यन्त जरुरी देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय