दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा माघ ४ देखि ६ गतेसम्म सञ्चालन भएको निशुल्क आँखा शिविरबाट ५२३ जनाले सेवा लिएका छन्। गेटा आँखा अस्पताल र शैल्यशिखर नगरपालिकाको सहकार्यमा आयोजित शिविरमा २६३ महिला र २६० पुरुषले सेवा लिएका हुन्।
शिविरमा १०५ जनाको आँखाको शल्यक्रिया गरिएको छ, जसमा ४३ महिला र ६३ पुरुष छन्। मोतिबिन्दुका बिरामीहरूको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको जनस्वास्थ्य निरीक्षक शिवदत्त जोशीले जानकारी दिनुभयो।
डाक्टर सुजाता भण्डारीको नेतृत्वमा चिकित्सकहरूको टोलीले बिरामीहरूको चेकजाँच र शल्यक्रिया गरेको हो। शिविर व्यवस्थापनका लागि गोकुलेश्वर माध्यमिक विद्यालयले १० जना स्वयंसेवक उपलब्ध गराएको जोशीले बताउनुभयो।
दार्चुलाकै महाकाली नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालय, खलंगामा माघ ८ देखि १० गतेसम्म निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। उक्त शिविरमा मोतिबिन्दुको उपचार, आँखा रोगीहरूको निशुल्क शल्यक्रिया, निशुल्क औषधि वितरण तथा सुपथ मूल्यमा चस्मा उपलब्ध गराइने आयोजकलेजनाएको छ।
