दार्चुला: गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुलाका स्ववियू सभापति नवीन विष्ट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। उहाँसँगै सुदूरपश्चिम प्रदेशबाट १९ जना विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन्।
सुदूरपश्चिमबाट निर्विरोध निर्वाचित भएका पदाधिकारीहरूमध्ये प्रमुख रूपमा सचिवालय सदस्य सौरभ थारु (समावेशी, कैलाली), गोरीकला रोका मगर (छात्रा, अछाम), तथा अन्य केन्द्रीय सदस्यहरूमा प्रेम बहादुर बोगटी (कैलाली), डम्बर कुँवर (कञ्चनपुर), योगेन्द्र भट्ट (डोटी), अनिल बोहरा (डडेल्धुरा), गणेश वम (वैतडी), रुमला कुमारी जाग्री (बझाङ), शंकर बहादुर सार्की (बाजुरा), प्रशान्त कठायत (पछाडि परेको क्षेत्र), पूजा बिष्ट (छात्रा), यशोदा बोहरा (छात्रा), आसु मल्ल (छात्रा), रुमन चौधरी (थारु), र पुर्ण सिंह धामी (निर्वाचन आयोग सदस्य, खुला) रहेका छन्।
त्यसैगरी, मनिषा साउद लेखा आयोग सदस्य (छात्रा), उपेन्द्र शाह अनुशासन आयोग सदस्य (खुला), र अनिल लोहार अनुशासन आयोग सदस्य (समावेशी) पदमा निर्विरोध निर्वाचित भएका छन्।
अखिल क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिले बुधबार राति केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, तथा केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको थियो।
२३औं सम्मेलनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि माघ १२ गते निर्वाचन तोकिएको छ। यसका लागि ३१२ पदका लागि ५०० जनाले उम्मेदवारी दिएका छन्। प्रारम्भिक नामावलीमा समेटिएका उम्मेदवारहरूमाथि दाबी–विरोधका लागि बिहीबार बिहान ९ बजेसम्म www.election.akhilr.org मा उजुरी पेस गर्न सकिने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ
