कञ्चनपुर – कञ्चनपुरका विद्यार्थी नेता प्रेम रावल अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित भएका छन्। निर्वाचनमा उनले उत्कृष्ट मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्।
झण्डै एक दशकदेखि विद्यार्थी राजनीतिमा सक्रिय रावलले यसपटक ६ बुँदे एजेन्डा प्रस्तुत गर्दै चुनावी मैदानमा होमिएका थिए। उनले गरिब, उत्पीडित तथा भौगोलिक रूपमा पिछडिएका विद्यार्थीको आवाज राष्ट्रियकरण गर्ने, शिक्षालाई श्रम र उत्पादनसँग जोड्ने, उद्यमशीलता र स्वरोजगारलाई प्राथमिकतामा राख्ने जस्ता ठोस योजनाहरू अघि सारेका थिए।
निर्वाचनपछि आफ्नो विजय सम्बोधनमा रावलले धन्यवाद ज्ञापन गर्दै शिक्षामा देखिएका विकृतिहरूको अन्त्य गर्न र विद्यार्थीको हक–हितका लागि अझै दृढताका साथ लागिरहने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले अखिल क्रान्तिकारीको गरिमा थप उचाइमा पुर्याउँदै सबै विद्यार्थीको अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष जारी राख्ने प्रतिवद्धता दोहोऱ्याए।
रावलको जितसँगै कञ्चनपुरका विद्यार्थी नेता र युवाहरूले उनप्रति विश्वास प्रकट गरेका छन्। यो जितले विद्यार्थी राजनीतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
