बैतडी– बैतडीका विभिन्न बजार क्षेत्रमा बिक्री भइरहेको मोटो चामलको बोरामा कम तौल भएको गुनासो आएको छ। ५० किलोको बोरामा एक किलो र २५ किलोको बोरामा आधा किलो चामल कम भएको भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको कैलालीका बालाजी राइस मिल, एच्छा राइस मिल तथा कञ्चनपुरको त्रिपुरासुन्दरी एग्रो इण्डस्ट्रिज प्रालिले उत्पादन गरेको चामल बैतडीमा बिक्री भइरहेको छ। तर, व्यापारीहरूका अनुसार उक्त चामलको बोरामा आधा किलोदेखि एक किलोसम्म तौल कम देखिएको छ।
पाटन नगरपालिका–८, विप्याकटाल बैतडीका खुद्रा व्यापारी हरिश बिष्टले चामलको बोरामा कम्पनीले ठगी गरेको आरोप लगाएका छन्। बोरा खोलेर खुद्रा चामल बिक्री गर्दा व्यापारी तथा सिङ्गो बोरा किन्दा उपभोक्ता दुबै ठगिएको उनले बताए। हाल बैतडीमा मोटो चामल प्रतिकिलो ५४ रुपैयाँमा बिक्री भइरहेको छ।
यसैबीच, दार्चुलाको लेकम गाउँपालिका–२, रातामाटामा पनि कम तौल भएको चामल बिक्री भइरहेको स्थानीयले गुनासो गरेका छन्। उपभोक्ताहरूले वास्तविक तौलभन्दा कम भएको चामल किनेर आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्।
बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उपभोक्तालाई ठगी हुन नदिन तुरुन्तै अनुगमन गर्ने तयारी भइरहेको जानकारी दिए। खाद्य गुण नियन्त्रण कार्यालय, बैतडीका प्रमुख ललित कठायतले भने, “हामीले खाद्यान्नको गुणस्तर हेर्ने गरेका छौं, तर तौलको विषयमा नापतौल विभागले हेर्ने हो। तथापि, बजारमा कम तौल भएको चामल बिक्रीबारे सम्बन्धित निकायसँग समन्वय गर्छौं।”
बैतडीका उपभोक्ताहरूले वार्षिक ४८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने तथ्यांक छ। तर, जिल्लामा जम्मा २९ हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ, जसअनुसार वार्षिक १८ हजार मेट्रिक टन खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्छ।
बाहिरी जिल्लाबाट आउने खाद्यान्नमा उपभोक्ताले तौलमा ठगी सहनु परेको भन्दै बैतडी र दार्चुलाका स्थानीयहरूले चाँडो अनुगमन गरी दोषी कम्पनीहरूलाई कारबाही गर्न माग गरेका छन्।
