दार्चुला:  हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधनासहित मनाइँदै छ । यस अवसरमा विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, र विद्यार्थीहरूले कलम, कापी, कुची तथा वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्ने परम्परा छ ।

विद्या र सिर्जनाकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन् । तान्त्रिक परम्परामा उनलाई तारादेवीका रूपमा समेत मान्ने गरिन्छ । सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका साथ यस पर्वलाई वसन्त पञ्चमी भनिन्छ ।

ऋग्वेदमा वाग्देवीका रूपमा उल्लेख गरिएकी सरस्वती ब्रह्माकी अर्धाङ्गिनी हुन्, जसको उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यसै कारण आजकै दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक–कान छेड्ने, विवाह, व्रतबन्ध तथा गुफा राख्ने जस्ता धार्मिक तथा सांस्कृतिक कार्यका लागि शुभ साइत मानिन्छ ।

विशेष गरी काठमाण्डौ उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती मन्दिर, ललितपुरको लेले तथा विभिन्न जिल्लाका सरस्वती मन्दिरहरूमा आज बिहानैदेखि विद्यार्थी तथा भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय