दार्चुला: दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरी ठगुन्नालाई दिइएको छ। संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार महाकाली नगरपालिकालाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतमा ठगुन्नालाई जिम्मेवारी दिएको हो।
यसअघि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा कार्यरत रहेका अधिकृत छैटौं नर सिंह बडालको जिम्मेवारी रद्द गरिएको थियो। बरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीले निमित्त कार्य गर्दै आएको भन्दै बडालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी खोसिएको हो।
नगरपालिकामा कार्यरत कर्मचारीहरुमध्ये बरिष्ठ कर्मचारी ठगुन्नालाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ। ठगुन्ना नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह (अधिकृत सातौ) हुन्।
