दार्चुला — दुहुँ गाउँपालिका–१ अन्तर्गत पर्ने चौपाते चौके ढुंङगा दर्शन सामुदायिक वनमा लागेको भीषण आगलागी नियन्त्रणमा आउन सकेको छैन। शनिबार दिउँसो सुरु भएको आगो आइतबार साँझसम्म पनि निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख कान्तिराज जोशीका अनुसार आगो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिए पनि आगलागी नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ। जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र प्रमुख जिल्ला अधिकारीको टोली घटनास्थलमा पुगेको छ।
स्थानीयवासी पनि आगो नियन्त्रणका लागि सक्रिय रूपमा लागे तापनि आगो अझै नियन्त्रण बाहिर रहेको छ। आगलागीका कारण सामुदायिक वनमा ठूलो क्षति पुगेको छ भने स्थानीयको खर तथा खानेपानीको पाइप जलेको छ। माथिल्लो जंगल क्षेत्रमा रहेको एनसेल र नसस्तेको टावरलाई जोगाउन प्रयास भइरहेको प्रहरीको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार आगलागी भीरालो क्षेत्रमा भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको छ। उनले स्थानीयको सहकार्यमा सुरक्षाकर्मीहरू आगो नियन्त्रण गर्न प्रयासरत रहेको जानकारी दिए। आगलागी बस्तीमा फैलने त्रास बढ्दै गएको स्थानीयले बताएका छन्।
यसैबीच, सामुदायिक वनमा आगो कसले लगाएको भन्ने पहिचान हुन सकेको छैन। स्थानीयहरूले आगलागी नियन्त्रणका लागि स्थानीय सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।
