
दार्चुला: दार्चुलाको लेकम गाउँपालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लटिनाथ मावि चौपाताले हासिल गरेको छ। माघ २६ गतेदेखि आजसम्म लेकम गाउँपालिका-३ मा रहेको कृष्ण मावि लालीको खेलमैदानमा सम्पन्न प्रतियोगितामा मावि चौपाताले १४ स्वर्ण, ५ रजत, र ४ कास्य पदकसहित कुल २३ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो।
यसैगरी, कृष्ण मावि लाली ८ स्वर्ण, ११ रजत, र ७ कास्य गरी कुल २६ पदकसहित दोस्रो स्थानमा रह्यो भने हुनैनाथ मावि कुणी ६ स्वर्ण, ५ रजत, र ७ कास्य गरी कुल १८ पदकसहित तेस्रो भयो।
यस प्रतियोगितासँगै दार्चुलाका सबै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। अब फागुन १० गतेदेखि मार्मामा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि तयारी भइरहेको छ, जसमा स्थानीय तहस्तरबाट उत्कृष्ट खेलाडीहरूको टोली प्रतिस्पर्धा गर्नेछन्।