
दार्चुला – आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर दिवस मनाउन लागिएको हो।
सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन शुरू भएको हो।
लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो। यो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो।
रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवाज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन निर्वाह गरेको भूमिका अतुलनीय छ। साथै, रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ। सकारात्मक संवादलाई बढावा दिन रेडियोलाई उपयोगी माध्यम मानिन्छ।