बैतडी – बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–५ नगराउँका चार घरमा गएराति चोरी भएको छ। एक व्यक्तिको निधनपछि गाउँलेहरू अन्तिम संस्कारका लागि सहभागी हुने समयमा चोरी भएको हो। डिलाशैनी गाउँपालिका वडा नं. ५ का अध्यक्ष यज्ञराज भट्टका अनुसार चोरीको घटना चारवटा घरमा भएको पुष्टि भएको छ।
चोरी भएका घरहरूमा काशी गिरी, हरेन्द्र जोशी, रामदत्त जोशी र धनीदत्त जोशीका घर रहेका छन्। काशी गिरीको घरमा रहेका कालिका मन्दिरका १४ र ११ केजीका दुईवटा तामाका ताउली चोरी भएका छन्। हरेन्द्र जोशीको घरबाट ११ केजीको तामाको ताउली, रामदत्त जोशीको घरबाट दुईवटा तामाका गाग्री, र धनीदत्त जोशीको घरबाट १३ केजीको तामाको ताउली चोरी भएको वडा अध्यक्ष भट्टले जानकारी दिए।
यस घटनाबारे गोकुलेश्वर प्रहरीचौकीलाई जानकारी गराइसकिएको भए पनि चोरको पहिचान हुन सकेको छैन।
वडाध्यक्ष भट्टले चोरीका घटना दोहोरिन नदिन गाउँलेहरूलाई सतर्क रहन आग्रह गर्दै चोरको पहिचान भएमा तत्काल प्रहरी कार्यालय वा वडा कार्यालयमा खबर गर्न अनुरोध गरेका छन्।
