दार्चुला । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपालीमा पासोमा परेको चितुवा उद्दारको क्रममा मरेको छ। शुक्रबार दिउँसो स्थानीयले सामुदायिक वन क्षेत्रमा थापेको पासोमा परेको चितुवा शनिबार राति उद्दार गर्ने क्रममा मरेको डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश पार्कीले जानकारी दिनुभयो।
उक्त चितुवालाई उद्दारका लागि कञ्चनपुरको शुक्लाफाँटाबाट टोली पुगेर प्रयास गरे पनि जीवित उद्दार गर्न नसकिएको महाकाली शव डिभिजन वन कार्यालय जोलजिवीका फरेस्टर मान बहादुर नाथले बताउनुभयो।
नाथका अनुसार गम्भीर अवस्थामा रहेको चितुवा पासोमै मरेको हो। “गाडीको ब्रेक तार जस्तो देखिने तारले थापिएको पासोले चितुवाको शरीरमा गम्भीर चोट पुर्याएको थियो। जीवित उद्दारको सम्भावना कम थियो, तर तत्काल उद्दार गर्न सकिएको भए बच्न पनि सक्थ्यो,” उहाँले भन्नुभयो।
उक्त क्षेत्रमा पासो थाप्ने व्यक्तिको खोजी भइरहेको छ। मृत चितुवा करिब ७–८ वर्ष उमेरको पोथी रहेको र त्यसलाई इलाका प्रहरी कार्यालय लाली परिसरमा गाड्ने तयारी भइरहेको नाथले जानकारी दिनुभयो।
सूचना अधिकारी पार्कीका अनुसार जिल्लामा वन्यजन्तु उद्दारका लागि दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावले गर्दा चितुवाको समयमै उद्दार गर्न सकिएन। डिभिजन वन कार्यालय, महाकाली शव डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरूले प्रयास गरे पनि चितुवालाई बचाउन सकिएन।
