दार्चुला – लेकम गाउँपालिका वडा नम्बर ४ मा अवस्थित हुनैनाथ माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित “राम चरित मानस” (अखण्ड रामायण) महायज्ञ सम्पन्न भएको छ।
विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा फागुन १२ गतेदेखि सुरु गरिएको महायज्ञ आज विधिपूर्वक समापन गरिएको विद्यालयका शिक्षक दुर्गादत्त पाठकले जानकारी दिनुभयो
महायज्ञमा पण्डित धर्मानन्द भट्ट, पुष्पराज जोशी, श्यामराज जोशी, इन्द्र देव जोशी, मोहन देव जोशी, दुर्गादत्त ओझा, जगदिशचन्द्र जोशी, लिलाधर जोशी र अम्बादत्त ओझा गरी नौ जना विद्वान पण्डितहरूले अखण्ड रामायण कथा वाचन गर्नुभएको थियो।
उक्त धार्मिक समारोहमा गाउँपालिकाभरिका पण्डितहरू, धामी (पतर्या) हरू, श्रद्धालुजन, स्थानीयबासी, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। महायज्ञकै अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले जानकारी दिनुभयो।
यसै अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा हाल जापानमा कार्यरत दिलेन्द्र प्रसाद जोशीले घोषणा गर्नुभएको १ लाख १ हजार १०१ रुपैयाँ सहयोग राशी उहाँका अभिभावक देवराज जोशी र कुमारी देवी जोशीमार्फत विद्यालयलाई हस्तान्तरण गरिएको छ। विद्यालय परिवारले जोशी परिवारलाई धन्यवाद ज्ञापन गर्दै उनका आमाबुबालाई दोसल्लाद्वारा सम्मान गरेको छ।
महायज्ञ सफल बनाउन योगदान दिने सम्पूर्ण सहयोगी हातहरूलाई विद्यालय तथा वडा नम्बर ४ परिवारले आभार व्यक्तगरेको छ।
