धनगढी- जिवन कहिले र् कति बेला सकिन्छ कसैलाई थाहा हुदैन यस्तै सामाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा केही दिन चर्चित मौलिक गीत गाएर भाइरल बनेकी कालिकोटकी राधिका बादीको आज निधन भएको छ । ४२ वर्षीय राधिकाको आइतबार बिहान कालिकोटको पलाँता गाउँपालिका–४, थिरपुमा निधन भएको जनाईएको छ्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी टेक बहादुर रावतले दिएको जानकारी अनुसार, राधिका पछिल्लो दुई दिनदेखि बिरामी रहेकी थिइन्, र आइतवार बिहान उनको मृत्यु भएको हो ।
डिएसपी रावतका अनुसार राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका–२ का बासिन्दा हुन् । यो जोडी लामो समय देखि मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो । विशेष गरी राधिकाको मादल बजाउने कला र समधुर स्वरमा गाउने मौलिक गीत उत्कृष्ट मानिन्थ्यो, जसले सामाजिक सञ्जालमा धेरैको मन जितेको थियो । उनले मादल बजाएर ‘नशा नशामा रगत रगतमा..’ भन्ने गीत गाएको भिडियो केही दिन यता भाइरल बनेको थियो ।
यतिखेर राधिकाको निधनको खबरले कला प्रेमीहरू शोकमा छन् । सामाजिक सञ्जालमा उनका गीत तथा भिडियोहरू अझै पनि चर्चामा छन् । राधिकाको पहिलो घर बझाङमा भएपनि जोगेन्द्रसँग दोस्रो विवाहपछि उनी बाजुरामा बस्दै आएकी थिइन् ।
