धनगढी– “सबै महिला र छोरीहरूका अधिकार समानता र सशक्तीकरणको हकदार“ भन्ने मूल नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा धनगढीस्थित शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशालामा विशेष कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम विशेष रूपमा चैतन्य आमा अभिभावकहरूका लागि शुभकामना आदान–प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
महिला सशक्तीकरण, नारी नेतृत्व, परिवारमा महिलाहरूको भूमिका र समसामयिक सामाजिक परिवेशका विषयमा गहन छलफल गर्न आयोजित कार्यक्रम बिहान ८ बजेबाट औपचारिक रूपमा सुरु भएको थियो। कार्यक्रममा धनगढी उपमहानगर पालिकाकी पूर्व उप–प्रमुख तथा समाजसेवी सुशीला मिश्र प्रमुख वक्ताका रूपमा उपस्थित थिइन्। कार्यक्रममा चैतन्य पाठशालाका शिक्षक, विद्यार्थी, अभिभावक, महिला अभिभावक, पत्रकार, बुद्धिजीवी तथा विभिन्न सामाजिक सङ्घसंस्था प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख वक्ता पूर्व उप प्रमुख सुशीला मिश्रले महिला सशक्तीकरण, नेतृत्व विकास, सामाजिक र आर्थिक स्वावलम्बन जस्ता विषयमा विशेष प्रकाश पार्दै भन्नुभयो,
“महिलाहरू समाजको मेरुदण्ड हुन्। उनीहरूको सहभागिता बिना कुनै पनि समाजको विकास सम्भव छैन। इतिहासमा हेर्दा पनि नारीहरू नेतृत्वदायी भूमिकामा रहेका छन्। तर आज पनि महिलाहरू अनेकौँ सामाजिक कुरीति, भेदभाव र हिंसाका सिकार छन्। हामीले अब महिलाहरूलाई अधिकार र अवसर प्रदान गर्दै समानताको यात्रामा अघि बढ्नुपर्छ।“ उनले भन्नुभयो,
“हामीले छोरीहरूलाई पढाउनुपर्छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु पर्दछ। महिला शिक्षित भए मात्र सिङ्गो परिवार शिक्षित हुन्छ र समाज रूपान्तरण हुन्छ।“
उहाँको सम्बोधनपछि सहभागीहरूले महिलाको नेतृत्व, परिवारमा महिलाको भूमिका, शिक्षा र आर्थिक स्वावलम्बनका विषयमा खुला छलफल गरेका थिए। कार्यक्रमका क्रममा विभिन्न वक्ताहरूले महिलाहरूको सशक्तीकरणका लागि विविध दृष्टिकोण प्रस्तुत गरेका थिए। वक्ताहरूले विशेष गरी समाजमा महिलाहरूको नेतृत्वदायी भूमिका कसरी बढाउन सकिन्छ भन्ने विषयमा विचार व्यक्त गरेका थिए । उहाँहरूले आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रूपमा महिलाहरूलाई अगाडि बढाउन आवश्यक नीतिहरू लागू गर्नुपर्नेमा जोड दिए। परिवार एकाइभित्र महिलाहरूको भूमिका अपरिहार्य रहेको र उनीहरूको सशक्तीकरण बिना समाजको सही विकास हुन नसक्ने विषयमा चर्चा गरिएको थियो। महिलाहरू घरको मेरुदण्ड मात्र नभएर समाजका हरेक तहमा नेतृत्वदायी भूमिकामा रहनुपर्ने धारणा वक्ताहरूले राखेका थिए ।
कार्यक्रममा बोल्दै चैतन्य ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले उपस्थित सम्पूर्ण लाई धन्यवाद दिँदै शिक्षा नै महिलाको सशक्तीकरणको मूल आधार भएको बताउनुभयो। महिला शिक्षित भएमा समाजमा सचेतना फैलाउन सकिने र उनीहरू आर्थिक रूपमा पनि आत्मनिर्भर बन्ने वातावरण तयार गर्न सकिने बताउनुभयो । उहाँले भने हाम्रो समुदाय पुरुष प्रधान भनिए पनि परापूर्व कालदेखिन् हाम्रो समाज महिला प्रधान रहेको व्यक्त गर्नु भयो “आजको यो विशेष अवसरमा हामीले महिलाहरूका अनुभव, सोच र नेतृत्व क्षमताबारे गहिरो छलफल गर्ने अवसर पायौ। चैतन्य पाठशालाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्दै जाने“ उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा सहभागी आमाहरूले आफ्ना अनुभवहरू साझा गर्दै । केही अभिभावकहरूले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिए भने केहीले घरभित्रै हुने लैङ्गिक भेदभाव हटाउनुपर्ने भनाई रहेको थियो । महिलाहरू अझै पनि घरपरिवारको सीमाभित्र मात्रै सीमित रहेका र आत्मनिर्भर हुन, बाहिरको विश्व हेर्न र आफ्नो भविष्य निर्माण गर्न हामीले शिक्षा, सीप र अवसरको आवश्यकता रहेको भनाई रहेको थियो।
कार्यक्रमले महिला सशक्तीकरण, नारी नेतृत्व र लैङ्गिक समानता को विषयलाई गहिरोसँग उजागर गरेको छ। सहभागीहरूले कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। साथै, आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने समेत भनाई रहेको थियो।


