दार्चुला – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत दार्चुलाका पाँच वटै क्याम्पसमा विद्यार्थी संघ, संगठनहरूबीच सहमतिमै उम्मेदवारी दर्ता गरिएको छ। त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त जिल्लाका पाँच वटै क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूले पूर्वसहमति अनुसार भागवण्डाका आधारमा उम्मेदवारी दर्ता गराएका छन्।

अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थी नेताहरूका अनुसार सहमति अनुसार लटिनाथ क्याम्पस मार्मा र कृष्ण स्नातक क्याम्पस लालीमा अनेरास्ववियुबाट अध्यक्ष उम्मेदवार बनेका छन्। लालीमा ओमकार पाल र मार्मामा रुकेश सिंह विष्ट अध्यक्षमा उम्मेद्वार भएका छन्।

त्यस्तै, महाकाली नगरपालिकास्थित राष्ट्रिय क्याम्पस दत्तुमा नेविसंघबाट निलु भट्ट र ब्याँस गाउँपालिकास्थित अपिनाम्पा क्याम्पस हुतीमा शेखर बम अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर क्याम्पस पस्तीमा भने अखिल (क्रान्तिकारी) का जानकी टमटा अध्यक्ष बनेका छन्।

सहमति अनुसार, लटिनाथ क्याम्पस मार्मा मा अध्यक्ष अनेरास्ववियु, उपाध्यक्ष र सचिव अखिल (क्रान्तिकारी) तथा सहसचिव र कोषाध्यक्ष नेविसंघले पाएका छन्। कृष्ण स्नातक क्याम्पस लालीमा अध्यक्ष र सहसचिव अनेरास्ववियु, उपाध्यक्ष र कोषाध्यक्ष नेविसंघ तथा सचिव अखिल (क्रान्तिकारी) ले पाएका छन्।

यस्तै, शंकरपुर क्याम्पस पस्तीमा अध्यक्ष र सहसचिव अखिल (क्रान्तिकारी), सचिव नेविसंघ तथा उपाध्यक्ष र कोषाध्यक्ष अनेरास्ववियुले लिएका छन्। राष्ट्रिय क्याम्पस दत्तुमा अध्यक्ष, कोषाध्यक्ष र सहसचिव नेविसंघ तथा उपाध्यक्ष र सचिव अनेरास्ववियुले पाएका छन्। अपिनाम्पा क्याम्पस हुतीमा अध्यक्ष र उपाध्यक्ष नेविसंघ, सचिव र सहसचिव अनेरास्ववियु तथा कोषाध्यक्ष अखिल (क्रान्तिकारी) ले पाउने सहमति भएको छ।

यसअघि नै जिल्लाका तीन प्रमुख विद्यार्थी संगठनहरू – अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी) बीच स्ववियु निर्वाचनको नेतृत्व भागवण्डा गरेर जाने सहमति भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय