दार्चुला: दार्चुला सहित देशभरका हिमाली तथा पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ फागु पर्व अर्थात् होली समापन गरिंदैछ। वसन्त ऋतुको आगमनसँगै मेलमिलाप, सद्भाव र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने यस पर्वमा रङ्ग, अबीर र लोला खेली उल्लासपूर्वक मनाइन्छ।

पुराणअनुसार असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा यो पर्व मनाउने प्रचलन छ। हिरण्यकश्यपले आफ्नी बहिनी होलिकालाई भक्त प्रल्हादलाई आगोमा जलाई मार्न लगाएको तर होलिका स्वयं भष्म भई प्रल्हाद सकुशल निस्किएको धार्मिक कथन रहेको छ। शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको सम्झनामा होलीको पूर्वसन्ध्यामा होलिका दहन गर्ने परम्परा रहँदै आएको छ।

दार्चुलालगायत पहाडी जिल्लाहरूमा केही दिनअघि नै होली उत्सव सुरु भइसकेको थियो। रंगीन उत्सवका रूपमा मनाइने होली पछिल्ला वर्षहरूमा सभ्य बन्दै गएको छ। अराजक गतिविधि रोक्न सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले निगरानी बढाएको छ। इच्छाविपरीत कसैलाई रङ्ग नलगाउन, होहल्ला नगर्न, मादक पदार्थ सेवन नगरी सौहार्दपूर्ण रूपमा पर्व मनाउन प्रहरीले आग्रह गरेको छ।

यसैबीच, स्वास्थ्य विज्ञहरूले रङ्ग प्रयोग गर्दा छाला, आँखामा हुने असरबाट जोगिन सचेत रहन सुझाव दिएका छन्। केमिकलयुक्त रङ्गले एलर्जी तथा स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले प्राकृतिक तथा सुरक्षित रङ्ग प्रयोग गर्न चिकित्सकहरूले आग्रह गरेका छन्।

फागु पूर्णिमाका अवसरमा आज हिमाली तथा पहाडी क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ। विशेषगरी सुदूरपश्चिमका जिल्लाहरूमा होली आज समापन हुँदैछ। गाउँघरदेखि शहरबजारसम्म रंग, उमंग र खुशीयालीका साथ यो पर्व मनाइँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय