बैतडी – बैतडीमा चितुवाको आक्रमणबाट पछिल्ला १३ वर्षमा २८ जनाले ज्यान गुमाएका छन्। सँगै, त्यही अवधिमा २८ चितुवा समेत पासोमा परी मरेका छन्।
चितुवाको आहारा चोरीसिकारीका कारण कम हुँदै गएपछि मानव–चितुवा द्वन्द्व चर्किएको विज्ञहरू बताउँछन्। यसै सन्दर्भमा, राष्ट्रिय प्रकृति संरक्षण कोषले बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवाको गतिविधि अध्ययन गर्न ५० वटा स्वचालित क्यामरा जडान गरेको छ। मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न क्षेत्रमा राखिएका क्यामराबाट १५ दिनसम्म चितुवा तथा अन्य वन्यजन्तुको गतिविधि रेकर्ड गरिएको छ।
अध्ययनपछि प्राप्त निष्कर्षका आधारमा चोरीसिकारी नियन्त्रण गर्न कदम चाल्ने, अग्रमोर्चामा खटिने कर्मचारीलाई तालिम दिने र समुदायसँग छलफल गर्ने कार्य थालिएको कोषका शुक्लाफाँटा कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार वन्यजन्तु अपराध, विशेष गरी चोरीसिकारी, मानव–वन्यजन्तु द्वन्द्व बढ्ने प्रमुख कारणमध्ये एक बनेको छ।
