
दार्चुला: जिल्लाको अपिहिमाल गाउँपालिकामा गाउँपालिकाबाट प्रवाह हुने सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ। गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराका अनुसार शिविर हिजो (चैत्र ३ गते) देखि सुरु भएको हो।
शिविरको पहिलो दिन वडा नम्बर ३ का क्षत्ती, घाजीर, चोथ्थी, रगाडी, र माणै बस्तीका ३६८ जनाले सेवा लिएका छन्। तीमध्ये ५५ जनाले पशु सम्बन्धी औषधी तथा परामर्श, ७८ जनाले कृषि विउँविजन, १२५ जनाले स्वास्थ्य परीक्षण तथा औषधी, ८९ जनाले आयुर्वेद सेवा प्राप्त गरेका छन्। त्यस्तै, अध्यक्ष ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत १९ जना ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ।
शिविरको दोस्रो दिन (चैत्र ४ गते) सोही वडाका पाथा, कसौती, काटैँ, मरफूल, फागला, बिसउनाचौर र कोर्थी बस्तीका ४५३ जनाले सेवा लिएका छन्। जसअनुसार ६२ जनाले पशु परामर्श, ९१ जनाले कृषि विउँविजन तथा परामर्श, १५२ जनाले स्वास्थ्य परीक्षण तथा औषधी, ११० जनाले आयुर्वेद औषधी सेवा लिएका छन्। अध्यक्ष ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत ३८ जना ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ।
गाउँपालिकाका विपद् व्यवस्थापन शाखा अधिकृत पान सिंह धामीका अनुसार वडा नम्बर ३ को माथिल्लो क्षेत्रमा चैत्र ६ गतेसम्म शिविर सञ्चालन हुनेछ। गाउँपालिकाका ६ वटै वडामा चैत्र २४ गतेसम्म शिविर सञ्चालन हुने छ। घुम्ती शिविर टोलीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शाखागत कर्मचारीहरू, वडा अध्यक्षहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको छ।