दार्चुला: अपिहिमाल गाउँपालिका–५ सौगन्ना तल्लोफेरस्थित सौगन्ना आधारभूत स्वास्थ्य इकाईलाई राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोग तथा ज्योति विकास बैंकको आर्थिक सहयोगमा न्यानो बेबी वार्मर मेसिन हस्तान्तरण गरिएको छ। करिब रू. १ लाख ५० हजार बराबरको उक्त उपकरण स्वास्थ्य इकाईलाई उपलब्ध गराइएको हो।
मेसिन हस्तान्तरणका क्रममा टोलीले स्वास्थ्य इकाईका कर्मचारीलाई प्रयोग विधि सम्बन्धी जानकारी गराउँदै विकट क्षेत्रमा समेत आविष्कार केन्द्र र ज्योति विकास बैंकले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।
उक्त हस्तान्तरण कार्यक्रममा अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा, वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्रसिंह धामी, ज्योति विकास बैंकका प्रतिनिधि तथा राष्ट्रिय आविष्कार केन्द्रको टोलीको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष बोहराले सहयोगी टोलीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा व्यक्त गरे। साथै, उनले टोलीलाई अपि बेस क्याम्प भ्रमणका लागि निम्तो समेत दिए।
