दार्चुला: जिल्लाको अपिहिमाल गाउँपालिका खण्डेश्वरी, दार्चुलाले मिति २०८१/१२/०७ गते ५ नं. वडाको लुम्थि र ६ नं. वडाको चौकिबगरका बस्तीका सेवाग्राहीलाई सेवा दिने उद्देश्यले एकीकृत घुम्ती शिबिर सञ्चालन गरेको छ। यस शिबिरमा ८२ जना (महिला-६२, पुरुष-२०) सेवाग्राहीलाई स्वास्थ्य चेकजाँच, औसधी वितरण, कृषि बिउबिजन र परामर्श, पशुचौपायमा औसधि वितरण, आयुर्वेद औसधि र मालिस तेल वितरण सहित आयुर्वेद परामर्श, र ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत १० जना ज्येष्ठ नागरिकलाई न्यानो सामाग्री (टोपी, जुत्ता) र कोशेली प्रदान गरिएको छ।
पालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले घुम्ती शिबिर सञ्चालन गर्नुको मुख्य उद्देश्य जनतालाई घरदैलोमा सेवा उपलब्ध गराउनु रहेको जानकारी दिनुभएको छ। यस अघि पालिकाले वडा नं ३ र ४ मा यस्ता शिबिर सञ्चालन गरिसकेको छ। शिबिरको उद्देश्य पालिकाले दिने सेवा सुविधालाई जनताको घरदैलोमा पुर्याउनु हो र यस कार्यक्रमको वार्षिक सञ्चालनको योजना रहेको बताइएको छ।
