दार्चुला– भारतमा रोजगारीका क्रममा रहेका दुई युवा मान सिंह ठगुन्ना र नरेन्द्र कामीले आफ्नो गाउँमा कृकेट खेलको प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान दिएका छन्। नौगाड गाउँपालिकाको वडा नम्बर ६ स्थित कृकेट मैदानमा “नौगाड कृकेट कप २०८१” गत दसैंको अवसरमा सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा नौगाड क्षेत्रका १० टिमको सहभागिता रहेको थियो, जसमा रोयल टाइगर धुलिगडाले उपाधि जितेको थियो।
हाल पनि उक्त मैदानमा खेलाडीहरू नियमित अभ्यास गरिरहेका छन्। यही उत्साह देखेर भारतमा रहेका ठगुन्ना र कामीले नौगाडका क्रिकेट प्रेमीहरूको लागि MRF ब्रान्डका दुई ओटा ब्याट पठाएका छन्। उपेन्द्र सिंह ठगुन्ना खर्कालोका अनुसार, स्थानीय खेलाडीहरूलाई आवश्यक सामग्रीको अभाव भइरहेका बेला पठाइएका यी ब्याटहरूले उनीहरूलाई थप प्रेरणा दिएको छ।
मान सिंह ठगुन्नाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, “म आउन नसके पनि हामिले तपाईंहरूको लागि ब्याट पठाइ दिएका छौँ।” यस सानो सहयोगले स्थानीय खेलाडीहरूलाई ठूलो हौसला दिएको छ। नयाँ प्रतिभा खोजी र प्रवर्द्धनमा टेवा पुगेको भन्दै खेलाडीहरूले खुशी व्यक्त गरेका छन्।

