धनगढी– सुदूरपश्चिम प्रदेशको कला, संगीत र संस्कृति झल्काउने उद्देश्यसहित तयार पारिएको नयाँ गीत रान चडि हालै सार्वजनिक भएको छ । मौलिकता र समकालीन भावनालाई समेट्दै ल्याइएको यस गीतले स्थानीय कलाकारहरूको प्रतिभा प्रस्तुत गर्दै प्रदेशकै पहिचान र समृद्ध सांस्कृतिक पक्षलाई उजागर गर्ने प्रयास गरेको छ।

गीतमा लोकप्रिय गायक दीपक राज जोशी र गायिका गौरी भट्टाको आवाज सुन्न सकिन्छ। उनीहरूको सुमधुर स्वरमा सजिएको गीतमा र्यापर अमृत नाथले आफ्नै शैलीमा सन्देशपूर्ण प्रस्तुति दिएका छन्।

गीतको शब्द चचर्चित गायक तथा सर्जक भानुभक्त जोशीले लेखेका छन्, जसमा स्थानीय जनजीवन, प्रेम र सामाजिक अनुभूतिहरूको गहिरो अभिव्यक्ति पाइन्छ। संगीत संयोजन गौरव जोशी र सन्तोष जोशीले गरेका छन्। कृष्ण बजुरेलीले मिक्सिङ, मास्टरिङ र एरेञ्जको जिम्मा सम्हालेका छन् भने विशाल बोहराले रेकर्डिङमा सहयोग पु¥याएका छन्।

गीतको सम्पूर्ण रेकर्डिङ प्रक्रिया धनगढीस्थित म्युजिक इरा स्टुडियोमा सम्पन्न गरिएको हो। स्टुडियो हाल सुदूरपश्चिममा सक्रिय र सशक्त म्यूजिक हबको रूपमा परिचित हुँदै गएको छ।

गीतसँगै सार्वजनिक गरिएको भिडियो अझै बढी चर्चा बटुल्ने अवस्थामा पुगेको छ। भिडियोको छायांकन सुदूरपश्चिमका विभिन्न रमणीय स्थलहरूमा गरिएको छ, जसले प्रदेशको प्राकृतिक सौन्दर्यलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ। भने सुन्दर भुमी छोडेर विदेश जानुपर्नै बाध्यताको समेत चित्रण गरिएको छ ।

भिडियोमा कलाकार अमृत नाथ, सृजना धामी, गौरव जोशी, करिश्मा बीसी, नरेश जोशी र गोमती भट्टाले अभिनय गरेका छन्। उनीहरूको अभिनयले कथालाई जीवित बनाउनुका साथै संगीतसँग भावनात्मक समन्वय समेत गरेको देखिन्छ।

भिडियोको क्यामेरा डिपार्टमेन्ट डीके रावलले सम्हालेका छन् भने सम्पादन तथा कलर करेक्सन सतीश सिन्हाले गरेका छन्। सम्पादन पक्षमा गरिएको मिहिनेतले भिडियोको सौन्दर्य र प्रवाहमा निकै राम्रो प्रभाव पारेको छ।

कार्यक्रम व्यवस्थापनमा भोजराज अवस्थीको भूमिका रहेको छ। भिडियोको निर्देशन प्रतिभाशाली युवा निर्देशक मासुम बिष्टले गरेका छन्। बिष्टले यसअघि पनि विभिन्न सामाजिक र सांगीतिक भिडियोमा निर्देशन गरिसकेका छन्, र यो भिडियो पनि उनको उत्कृष्ट सिर्जनात्मकता दर्शाउने उदाहरण बनेको छ।

सुदूरपश्चिममा यस्ता सिर्जनात्मक प्रयासहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्। यस प्रकारका गीत–संगीतले स्थानीय कलाकारलाई मात्र होइन, यहाँको भाषा, संस्कृति र मौलिकतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्छ।

यस गीतले पनि ठ्याक्कै यही उद्देश्य बोकेको छ – जहाँ सन्देश छ, भावनाहरू छन्, अनि त्यो भन्दा ठूलो कुरा – सुदूरपश्चिमका छायाँमा रहेका प्रतिभाहरूको उज्यालो भविष्यको संकेत छ।

भिडियो सार्वजनिक भएसँगै युट्युब र सामाजिक सञ्जालहरूमा यसको सकारात्मक प्रतिक्रियाहरू आउन थालेका छन्। दर्शकहरूले यसलाई “भावनात्मक, आकर्षक र संगीतात्मक रूपमा समृद्ध प्रस्तुति” भनेर टिप्पणी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय