
दार्चुला – स्वतन्त्र पत्रकारिता, सूचना पहुँच र श्रमजीवी पत्रकारहरूको हक–अधिकार सुनिश्चित गर्न माग गर्दै प्रेस सेन्टर नेपाल, दार्चुलाले जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ।
प्रेस सेन्टरको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरूको निरन्तर उपेक्षा, सूचना तथा कार्यक्रमहरूको प्रकाशनमा बाह्य सञ्चारमाध्यमलाई प्राथमिकता, पत्रकार सम्मेलन नगरी सरकारी गतिविधि गोप्य राख्ने प्रवृत्ति र प्रेस स्वतन्त्रताको मर्म विपरीत भइरहेका कार्यहरूप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “दार्चुला त्रिदेशीय सिमानासहितको अत्यन्तै संवेदनशील जिल्ला हो। यहाँका गतिविधिबारे नागरिकलाई जानकारी दिन सञ्चार माध्यम अनिवार्य भए तापनि स्थानीय श्रमजीवी पत्रकारहरूलाई बेवास्ता गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण र आपत्तिजनक छ।”
ज्ञापनपत्रमार्फत श्रमजीवी पत्रकारहरूलाई सम्मानपूर्वक सहभागी गराउने, सूचना समयमा उपलब्ध गराउने, स्थानीय मिडियालाई प्राथमिकता दिने, प्रेस स्वतन्त्रताको सम्मान गर्ने र श्रमजीवी पत्रकारको अधिकारलाई कानुनी रूपमा संरक्षण गर्ने माग गरिएको छ। साथै, काठमाडौंमा सम्पन्न प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनबाट पारित घोषणापत्र समेत ज्ञापनपत्रसँगै संलग्न गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा प्रेस सेन्टर नेपाल, दार्चुलाका अध्यक्ष हरिप्रसाद जोशीले भने, “हामी श्रमजीवी पत्रकारहरूको हक, सूचना पहुँच र प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्दै जानेछौं।”
त्यसै अवसरमा प्रेस सेन्टर नेपाल, दार्चुला शाखाका कोषाध्यक्ष नरेश प्रसाद जोशीले गहिरो धारणा राख्दै भने,
“आजको सूचनामूलक युगमा पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो। तर दुर्भाग्यवश, स्थानीय श्रमजीवी पत्रकारहरूलाई हेपिने, उपेक्षा गरिने र कार्यक्रमहरूमा सहभागी नगराइने प्रवृत्तिले प्रेस स्वतन्त्रताको सारलाई नै आघात पु¥याएको छ। हामी दिनरातको परवाह नगरी काम गरिरहेका छौं, तर हाम्रो योगदानलाई नजरअन्दाज गरिनु अन्याय हो।
हाम्रो माग कुनै विशेष सुविधा होइन—यो पत्रकारको पेशागत सम्मान र अधिकारको सवाल हो। स्थानीय मिडियालाई सम्मान नदिएर स्थानीय आवाजलाई नै दबाउने प्रयास भइरहेको छ, जुन हामी स्वीकार गर्न सक्दैनौं। पत्रकारको हैसियतमा हामी सत्य, न्याय र पारदर्शिताको पक्षमा कलम चलाउँदै आएका छौं र यस्तै सन्देशहरू राज्य संयन्त्रले पनि व्यवहारमा देखाउनु आवश्यक छ।”