
दार्चुला — आज दिउँसो आएको भीषण हावाहुरीले दार्चुला जिल्लाको लेकम गाउँपालिकालगायत विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। हावाहुरीका कारण धेरै ठाउँमा रुखहरू भाँचिएका छन् भने घरका छानाहरू उडाएको जानकारी प्राप्त भएको छ।
लेकम गाउँपालिका वडा नम्बर ५ स्थित रातामाटामा विद्युत् आपूर्तिका लागि रहेको मेन लाइनको पोल ढलेको छ। त्यस्तै, लेकम–४ बुढाकोट खेन्यामा परमानन्द जोशीको भान्साको छाना हावाहुरीले उडाएको छ।
यस्तै, लेकम गाउँपालिका तर्फ जाने सडक लेकम गाउँपालिका नजिकैको रातामाटामा रुख भाँचिएर अवरुद्ध भएको छ। सडक खुलाउने कार्य अहिले पनि जारी रहेको छ।
स्थानीयवासीहरूले यसअघि यति तीव्र र शक्तिशाली हावाहुरी कहिल्यै नआएको बताएका छन्। अचानक आएको यस हावाहुरीले जनजीवन प्रभावित बनाएको छ र स्थानीयहरू त्रासमा परेका छन्।