
दार्चुला: दार्चुला जिल्लाको लेकम गाउँपालिका–५ चनैलामा २०८१ साल चैत ११ गतेदेखि नेपाल टेलिकमको फोरजी सेवा सुरु गरिएको थियो। तर, सोही दिनदेखि यहाँको संचार सेवामा झन् समस्या देखिन थालेको छ। सेवा सुरु गर्नासाथ अपेक्षित सुधार आउने आशा गरिएको थियो, तर त्यो आशा झन् निराशामा बदलिएको छ।
पहिले सामान्य रूपमा नेटवर्क चल्ने ठाउँहरूमा अहिले नेटवर्क नै देखिँदैन। कतिपय स्थानमा फोनकल गर्न त कसोकसो हुन्छ, तर मोबाइलको स्क्रिनमा नेटवर्कको बार नै देखिँदैन। केही ठाउँमा फोरजी लेखिएर देखिने भए पनि त्यो फोरजीले न त इन्टरनेट चलाउँछ, न नै अन्य कुनै डिजिटल सेवा उपलब्ध गराउँछ। यस्तो अवस्थामा ‘फोरजी सेवा सुरु भयो’ भन्ने भनाइ आफैमा झुटो प्रचारजस्तो देखिन थालेको छ।
शुक्रबार वडा कार्यालय जाँदा मोबाइल सञ्जाल शून्य थियो। आइतबार जाँदा पनि त्यही अवस्था दोहोरियो। जनताको गुनासो मात्रै होइन, वडा कार्यालयकै नियमित कामकाजसमेत प्रभावित भएको छ। यस्तो अवस्थामा सेवा लिने त परै जाओस्, सेवा दिने नै समस्यामा छन्।
यो समस्या समाधानको माग गर्दै लेकम–५ वडा कार्यालयले नेपाल टेलिकम दार्चुला शाखालाई आधिकारिक रूपमा पत्र बुझाएको छ। तर, हालसम्म कुनै समाधान गरिएको छैन। उल्टै टेलिकम दार्चुला शाखाबाट “तपाईंहरूको बुझाइ भ्रम हुन सक्छ, अन्य कारणले पनि समस्या हुन सक्छ” भन्ने जवाफ दिइएको छ, जसले समस्या समाधानको सट्टा जनतालाई झन् अपमानित बनाएको छ।
जब सञ्जाल छैन, जब फोरजीको नाममा इन्टरनेट नै नचल्ने अवस्था छ, जब सेवा नै अवरुद्ध छ त्यहाँ जनताको अनुभवलाई भ्रम भन्नु दुर्भाग्यपूर्ण र गैरजिम्मेवार कार्य हो।
सरकार डिजिटल नेपाल बनाउने नारामा लाखौं खर्च गर्दैछ, तर दार्चुलाको ग्रामीण क्षेत्रमा जनताले अझै पनि सामान्य फोन सञ्जालको लागि आकाशतिर हेरेर आशा गर्नुपरेको अवस्था छ। यस्तो व्यवस्थाको जवाफ कसले दिन्छ? नेपाल टेलिकम? स्थानीय सरकार? संघीय सरकार?