बैतडी- बैतडी जिल्लामा अविरल वर्षापछि विभिन्न स्थानमा बाढी, पहिरो र खोला नदीको बहाव तीव्र बन्दा जनजीवन कष्टकर बनेको छ। हिजो बिहानदेखी लगातार परिरहेको वर्षाले जिल्लाको दोगडाकेदार, डिलासैनी, पुर्चौडी लगायतका क्षेत्रमा विशेष असर पारेको छ। ती क्षेत्रका बासिन्दा अहिले त्रसित छन्, किनभने खोला नदीहरूको बहाव बढ्दो छ र त्यसले खेतबारी, घर, सडक र बजार क्षेत्रमा गम्भीर जोखिम निम्त्याएको छ।

स्थानीय बासीका अनुसार, बिहान ४ बजेदेखि सुरु भएको अविरल वर्षाले दोगडाकेदार गाउँपालिका–१, रिम  आड गाउँ प्रभावित भएको छ। सो स्थानका करिब ७ घरधुरीका खेतबारीमा बाढी पसेको पुष्टि गरिएको छ। स्थानीय स्रोतका अनुसार जमिन भासिने खतरा बढेसँगै किसानहरूले लगाएको मकै खेतमा बाढी पस्न थालेपछि उनीहरू चिन्तित भएका छन्।

यसैबिच, डिलासैनी र दोगडाकेदारको सिमानामा बग्ने जमाडी नदीमा पानीको सतह अस्वाभाविक रूपमा बढेपछि नजिकका बस्तीहरूमा खतरा झनै बढेको छ। दोगडाकेदार–१, रिमका शिक्षक तथा सामाजिक अभियन्ता तेजबहादुर भण्डारीका अनुसार, “जमाडी नदीले हालसालै आफ्नो धार परिवर्तन गरेपछि दोगडाकेदार–६ स्थित खौला बजार अत्यन्तै उच्च जोखिममा परेको छ। नदीको पानी अब बजार क्षेत्रतर्फ सोझिएर बग्न थालेकाले क्षतिको सम्भावना बढेको हो।”

उनका अनुसार, नदीको बहाव तीव्र हुनुका साथै धार परिवर्तनले गर्दा नदी किनाराका बस्तीहरू, खेतबारी र बगरहरूमा क्षति पुगेको छ। गाउँमा त्रासको वातावरण छाएको र केही घरपरिवार सुरक्षित स्थानमा जान थालेको जानकारी उनले दिएका छन्।

यस्तै, डिलासैनीका स्थानीय देवेन्द्र मालले दिएका जानकारीअनुसार लगातारको वर्षाले स्थानीय सडकहरूमा पहिरो गएको छ भने कुनै–कुनै स्थानमा राजमार्गसमेत अवरुद्ध भएका छन्। उनले भने, “वर्षासँगै आएको पहिरोले केही घरहरू पनि उच्च जोखिममा परेका छन्। कतिपय स्थानमा सडक पूरै भासिएको छ, जसले गर्दा यातायात ठप्प भएको छ।”

अहिलेसम्म मानवीय क्षतिको औपचारिक जानकारी नआए पनि, प्राकृतिक क्षतिको परिमाण भने उल्लेख्य रहेको अनुमान गरिएको छ। प्रभावित क्षेत्रका स्थानीय तहहरू, सुरक्षा निकाय र उद्धार टोली तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।

यसैबिच, बैतडी जिल्ला प्रशासन कार्यालयले पनि अत्यधिक वर्षा र सम्भावित बाढी–पहिरोबाट जोगिन सबैलाई सतर्क रहन आग्रह गरेको छ। विशेष गरी नदी किनारमा बसोबास गर्ने परिवारहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय