दार्चुला — अपिहिमाल गाउँपालिकाले आइतबार खण्डेश्वरीस्थित कार्यालय परिसरमा ‘मल्देशी लोक संस्कृतिको सङ्गालो’ नामक पुस्तक सार्वजनिक गरेको छ। स्थानीय भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न उद्देश्य राखी प्रकाशित उक्त पुस्तकको विमोचन गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा र उपाध्यक्ष देवकीदेवी बोहराले संयुक्त रूपमा गर्नुभयो।

पुस्तकमा मल्देशी समुदायमा पुस्तौंदेखि मौखिक रुपमा प्रचलित संस्कार, जात्रा, पर्व, भेषभूषा, रीतिरिवाज, मन्त्र र लोकगाथाहरूलाई दस्तावेजीकरण गरिएको छ। विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ठेकरेले, “स्थानीय पहिचान जगेर्ना गर्न गाउँपालिकाले आर्थिक सहयोग सहित यस्ता कार्यलाई निरन्तरता दिँदै आएको छ,” भन्नुभयो।

पुस्तकको सामग्री मल्देशी भाषा तथा संस्कृति उत्थान समाजद्वारा संकलन गरिएको हो। समाजका अध्यक्ष लक्ष्मणसिंह बोहराका अनुसार मल्देशी संस्कृति अब मौखिक परम्परामा मात्र सीमित नरही लिपिबद्ध भएर नयाँ पुस्ताका लागि सुरक्षित भएको छ।

यसअघि सो समाजले मल्देश क्षेत्रमा बोलिने एकमात्र क्षेत्तेली भाषाको व्याकरण तथा शब्दसङ्ग्रहसमेत प्रकाशन गरिसकेको छ। हाल विमोचित पुस्तकमा चैत, उचेडा, ढुस्को, भल्लाउलो, जगरम, धारुगीत, हात्ताजोडी, फागजस्ता परम्परागत गीतहरू समावेश छन्।

त्यस्तै, विष निकाल्ने, भुइँचालो थाम्ने, भूत भगाउने, चोर बाँध्ने, रक्षा गर्ने जस्ता परम्परागत मन्त्रहरू र सात दिनसम्म मनाइने सुर्माभवानी जात्रासम्बन्धी जानकारी पनि पुस्तकमा समेटिएको छ।

पुस्तक संकलनकर्तामा लक्ष्मणसिंह बोहरा र कुमारी निर्मला बोहरा रहेका छन् भने ५०१ प्रति प्रकाशन गरिएको छ।

सामाजिक सम्पत्तिका रूपमा रहेको स्थानीय संस्कृतिको संरक्षण गर्ने अभिप्रायसहित गरिएको यो प्रयासले मल्देशी समुदायको मौलिक परिचय उजागर गर्नुका साथै सांस्कृतिक सम्पदाको जगेर्नामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय