धनगढी- २१२औँ भानु जयन्तीको अवसरमा चैतन्य पाठशालामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता–२०८२ सम्पन्न भएको छ।
प्रतियोगितामा धनगढी क्षेत्रका १४ विद्यालयको सहभागिता रहेको थियो । चैतन्य पाठशालाको फुटसलमा आयोजित कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी सभापति रहेका थिए । भने प्रेरक उपस्थितिको रूपमा महाकाव्यकार मणिराज जोशीको उपस्थिति रहेको थियो।
कैलालीका १४ विद्यालयको सहभागिता रहेको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। अन्तर विद्यालय कविता प्रतियोगितामा डिलाईट ईङ्लिस बोडिङ स्कुलकी छात्रा जेनिसा जोशी प्रथम, डिस्कोभरि स्कुलकी छात्रा प्राप्ति बस्नेत द्वितीय ,दुर्गा लक्ष्मी मा.वि अत्तरिया की छात्रा सन्ध्या अवस्थी, तृतीय , र विलक्षण पौडेलले सान्त्वना स्थान हात पारेका छन् ।
प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना स्थान हात पार्नेलाई क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको थियो। साथै, सहभागिता जनाएका सम्पूर्ण १४ विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा साहित्यकार कोपिला शर्मा (कल्प) चैतन्य पाठशालाका संस्कृत शिक्षक आनन्द प्रसाद बिनाडी र राम प्रसाद भण्डारी निर्णायकको रूपमा रहेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक कटक ब. सिंहले नेपाली भाषा र साहित्य हाम्रो राष्ट्रिय सम्पदा भएको भन्दै यसको संरक्षण र प्रवर्धन सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे। उनले यस्ता प्रतियोगिताहरूले विद्यार्थीमा भाषिक क्षमता विकास गर्ने र साहित्यिक अभिरुचि बढाउने समेत बताए।
आँखाले नदेखेको कुरा समेत साहित्यले प्रकाश पार्ने कार्यक्रममा प्रेरक उपस्थिति रहेका महाकाव्यकार मणिराज जोशीको भनाई रहेको थियो । उनले “आजको कार्यक्रमको उपस्थिति र कार्यक्रममा प्रस्तुत भएका रचनाले अहिलेको युवा पुस्तामा साहित्य प्रतिको मोह झल्काएको र विद्यालय स्तरमा यतिको प्रस्तुति प्रस्तुतिले आफूलाई खुसी लागेको बताए ।
कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले आज पाठशालाले कवि भानुभक्त आचार्यको योगदानको कदर र उहाँको बिचारको उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । भानुभक्तको देशप्रेम र समाज प्रेमको बिचार र बाटोमा हिन्न सकेमा देशलाई समेत योगदान पुग्ने बताए ।
भानुभक्तको समाजप्रतिको योगदान उदाहरणीय रहेको व्यक्त गरे । एउटा घाँसीबाट सिकेको शिक्षाले भानुभक्त आदिकवि बन्न सक्छन् भने हामीले समेत सिक्ने कुरामा हरदम तत्पर रहनुपर्ने शिक्षा भानुभक्तले दिएको उनको भनाइ रहेको थियो।
त्यस्तै उनले थपे “भानुभक्तको काव्य शैली बिलकुलै फरक प्रकारको छ, त्यो लय अझै पनि नेपाली जनजिब्रोमा गुन्जिरहेको छ । उनिपश्चातका अन्य धेरै कविहरूले आजसम्म पनि आफ्ना कविताहरू वाचन गर्न यही लयको प्रयोग गरेका छन् । भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ लगायतका क्षेत्रहरू अनि नेपाली समाज भएका विश्वभरिकै देशहरूमा भानु जयन्ती मनाइन्छ । भानुभक्त कवि मात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरूमा भानुभक्तको लय अझै जीवित छ” ।
चैतन्य पाठशालाले समेत यस्ता कार्यक्रमहरू मार्फत समाजमा सकारात्मक सन्देश दिनुहुने अग्रज व्यक्तित्वहरूको बारेमा जानकारी गराउने र उनीहरू जस्तै सचेत नागरिक बन्न अभिप्रेरित गर्ने लक्ष्य राखेको उनले बताए ।
