काठमाडौं। संविधानले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने व्यवस्था गरिएकै अवस्थामा समेत निशुल्क, समान र वैज्ञानिक शिक्षा सुनिश्चित गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज माईतिघर मण्डलामा आयोजना गरेको विद्यार्थी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

उपत्यकाका विभिन्न स्कुलबाट प्रदर्शनमा सहभागी हुन आएका विद्यार्थीहरूलाई बाटोमै रोकिएको, गाडीबाट झारेर फर्काइएको, माईतिघर पुगेकाहरूमाथि लाठी प्रहार र धरपकड गरिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ।

प्रहरीको दमनका क्रममा संगठनका उपाध्यक्ष रूपा बुढामगरसहित केन्द्रीय सचिवालय सदस्य लक्ष्मी शाह, सर्जन पाण्डे, आयुष घिमिरे, केन्द्रीय सदस्य बज्जिर नेपाली, सक्षम विश्वकर्मा, सुप्रिया नेपाली, समीर विक, सन्जना राई तथा कम्युनिस्ट युवा संगठन नेपालका सचिवालय सदस्य पदम हमाललाई गिरफ्तार गरिएको हो।

अखिल (क्रान्तिकारी) ले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “राज्यले श्वेत आतंक मच्चाएर दमन गरे पनि काठमाडौंका विभिन्न स्थानमा विद्यार्थी प्रदर्शन कार्यक्रम सफल भएको छ।” संगठनले प्रदर्शनमा संलग्न सबै नेता तथा कार्यकर्ताहरूलाई स-सम्मान रिहाइ गर्न माग गर्दै, “यदि गिरफ्तार कमरेडहरूलाई अविलम्ब रिहाइ नगरे जनताको मुक्तिको आन्दोलनलाई दमन गर्न खोज्ने यो दलाल, माफिया र कमिशनखोर सरकारले चर्को मूल्य चुकाउनु पर्नेछ,” चेतावनी दिएको छ।

संगठनले जनपक्षीय शिक्षा ऐन जारी गराउने संघर्षमा सबै आम नागरिक, अभिभावक र विद्यार्थीहरूलाई एकजुट भई अगाडि बढ्न पनि आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय