धनगढी– ‘साइकल यात्रा, मानवता सँगै’ भन्ने नारासहित कैलालीको धनगढीमा तेस्रो कोरा साइकलिङ्ग उत्सव आयोजना हुने भएको छ। श्रीनगर सपोर्ट क्लबको आयोजनामा साउन ३ गते ९जुलाई १९० को दिन यो उत्सव हुन लागेको हो। यस पटकको यात्रा सामाजिक सेवामा समर्पित हुने आयोजकले जनाएका छन्।
उत्सवबाट सङ्कलन गरिने रकम निसर्ग अस्पतालमा उपचाररत वन्दना लिम्बुको उपचार खर्चमा सहयोग स्वरूप प्रदान गरिनेछ। वन्दनाका लागि सहरका विभिन्न क्षेत्रका साइकल यात्रीहरू एकजुट हुने तयारीमा छन्।
शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइएको थियो। कार्यक्रम अनुसार धनगढीको कभर्डहलबाट सुरु हुने साइकल यात्रा बिहान ६ बजे देखि अत्तरिया स्याउले बजार, बन वेडा, चौमाला हुँदै वेहडाबाबा मन्दिरसम्म पुगेर पुनः कभर्डहलमै समापन हुनेछ। यात्राको कुल दुरी ५५ किलोमिटर हुनेछ।
साइकल यात्री भरत विक्रम शाहका अनुसार, सन् २०११ मा काठमाडौँमा ३५ जना सहभागीबाट सुरु भएको कोरा साइकल यात्रालाई धनगढीमा सन् २०२१ बाट फारर्वेस्टर्न राइडर्स क्लवले सुरु गरिएको थियो। अघिल्लो वर्ष ३५ किलोमिटर यात्रा गरिएकोमा यस पटक यात्राको दूरी थपिएको छ। यो तेस्रो पटकको साइकल यात्रा भएको उनले बताए
“धनगढीमा साइकल लेन त बनेका छन्, तर प्रयोग न्यून छ। यस उत्सवले साइकल प्रयोगमा जनचासो बढाउने अपेक्षा गरेका छौँ,” शाहले बताए।
कार्यक्रमको आयोजक श्रीनगर सपोर्ट क्लबका सदस्य जीवन खड्काका अनुसार, साइकल संस्कृति र वातावरणीय सन्तुलनका लागि यस्तो उत्सव आवश्यक छ। उनी भन्छन्, “स्वास्थ्य, वातावरण र सामाजिक सेवालाई एकैसाथ जोड्ने यो प्रयास उदाहरणीय हुनेछ।”
उत्सवमा ५० जना भन्दा बढी साइकल यात्रीहरू सहभागी हुने अनुमान गरिएको छ। सहभागीहरूले उत्सवमा भाग लिएर न केवल वातावरणीय सचेतना फैलाउने छन्।, बरु वन्दना लिम्बुको जीवन रक्षाका लागि पनि सहयोग गर्नेछन्।
