दार्चुला — दार्चुला जिल्लामा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि देखिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा दर्ता भएका १४९ आपराधिक घटनामध्ये १९ वटा आत्महत्याका छन्, जुन सबैभन्दा बढी दर भएका घटना हुन्।
प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतका अनुसार, आत्महत्याका कारण जिल्लामा गम्भीर मानसिक, सामाजिक तथा आर्थिक चुनौती देखिएको छ। अघिल्लो वर्ष २०८०÷८१ मा १५ जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने यो वर्ष यो संख्या अझै बढेको छ।
सवारी दुर्घटनाको घटनामा पनि कमी आएको छैन। गत वर्षमात्रै ७ वटा दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन्। कूल ३६ जनाले विभिन्न कारणले मृत्यु भएकोमा धेरैजसो महिला रहेका छन्। भिरबाट लडेर मृत्यु हुनेमा पनि महिलाको संख्या बढी रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
त्यसैगरी, कर्तव्य ज्यानको एक घटना, पानीमा हामफालेर एक र गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। दर्ता भएका १६४ घटनाका प्रतिवादीमध्ये १४५ जनालाई पक्राउ गरिएको छ भने १९ जना अझै फरार छन्।
प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको दार्चुलामा ७५ वटा विपद् सम्बन्धी घटना घटेका छन्, जसमा ४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयले आत्महत्या न्यूनीकरण तथा विपद् व्यवस्थापनमा सामुदायिक सचेतना र सरकारी पहल आवश्यक रहेको जनाएको छ।
