दार्चुला — शैल्यशिखर नगरपालिकामा सञ्चालित ओखर उत्पादन कार्यक्रमको नाममा फर्जी कागजात प्रयोग गरी बैंक खाताबाट रकम निकाल्ने प्रयास गरेको आरोपमा दुई जना सरकारी कर्मचारी पक्राउ परेका छन्।
शैल्यशिखर–६ मा सञ्चालनमा रहेको ‘ओखर पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत प्राप्त १२ लाख रुपैयाँ बजेट भुक्तानीको सिलसिलामा कागजात किर्ते गरिएको खुलेपछि नगरपालिकाका कृषि शाखा प्रमुख दीपकराज विष्ट र मालिकार्जुन कृषक समूहका अध्यक्ष तथा भेटेरिनरी प्राविधिक जनकसिंह धामीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्तिराज जोशीका अनुसार, उनीहरूले कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैंकमा झूठो विवरण पेश गरी खाता नवीकरण गर्न खोजेका थिए। प्रहरीका अनुसार उनीहरू विरुद्ध कागजात किर्ते तथा आपराधिक विश्वासघातअन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
नगरपालिकाको वडा नम्बर ६ लाई चालु आर्थिक वर्षमा ओखर पकेट क्षेत्र घोषणा गरिएको थियो। यस कार्यक्रम अन्तर्गत प्राप्त बजेट अनियमित रूपमा उपयोग गर्ने नियत देखिएपछि घटना सार्वजनिक भएको हो।
