दार्चुला — जडीबुटीका लागि प्रख्यात दार्चुलाबाट अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ३१६ क्विन्टल हिमाली जडीबुटी बाहिरी जिल्लामा निकासी गरिएको छ। तीमध्ये यार्चागुम्बा र वनलसुनजस्ता बहुमूल्य जडीबुटीहरू भारत, चीन लगायतका बाहिरी मुलुकसम्म निर्यात भएका छन्।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार डेढ दर्जनभन्दा धेरै किसिमका हिमाली जडीबुटी कैलाली, नेपालगन्ज, काठमाडौं हुँदै विदेश निकासी हुने गरेका छन्। गत वर्ष मात्रै एक क्विन्टल ८८.३३७ ग्राम यार्चागुम्बा, तीन क्विन्टल तीन सय ग्राम वनलसुन, ९८ केजी टिमुर, ३२ क्विन्टल पाषाणभेद, नौ क्विन्टल दालचिनी, १२ क्विन्टल अमला, १ हजार ५४० क्विन्टल तेजपात, ५८० क्विन्टल रिट्ठा, ३८ क्विन्टल सेतक चिनी, ४५ क्विन्टल अल्लो, ३२ क्विन्टल रातो च्याउ र २४ क्विन्टल कचुर निकासी गरिएको हो।
अपिनाम्पा संरक्षण क्षेत्र डिभिजन वनभन्दा ठुलो क्षेत्रमा फैलिएको छ, जहाँ हालसम्म ७० किसिमका जडीबुटीको पहिचान गरिए पनि ३५ किसिमका मात्र निकासी हुने गरेको छ। यार्चागुम्बाको निकासी अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्र हुने गरेको डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश पार्कीले जानकारी दिए।
यति ठूलो मात्रामा जडीबुटी निकासी हुँदा पनि संरक्षणको पक्षमा सरोकारवालाको चासो कम रहेको जडीबुटी व्यापारी तथा उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्वअध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताए। उनका अनुसार वन खुल्ला गर्ने नाममा हरेक वर्ष जथाभावी जडीबुटी सङ्कलन हुँदा केही जडीबुटी लोप हुने अवस्थामा पुगेका छन्।
निकासी राजस्वबापत अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयले कुल एक करोड ८९ लाख १० हजार ९०९ रुपियाँ संकलन गरेका छन्।
