दार्चुला र बझाङ जिल्लामा निरन्तर वर्षासँगै नदी तथा खोलाको जलसतह उच्च बनेको छ। दार्चुलाको चमेलिया नदी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ भने बझाङको बौलीगाड खोलाको सतह पनि सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
चमेलिया नदीमा जलसतह अझै बढ्ने संकेत देखिएकाले तटीय क्षेत्र र डुबानमा पर्ने होचा स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। यस्तै, बौलीगाड खोलामा पनि पानीको सतह बढ्दो क्रममा रहेकाले आसपासका वासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।
गएराति बर्दियाको दौलतपुर वर्षामापन केन्द्र र वरपरको क्षेत्रमा पनि ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भए पनि पहाडी भूभागमा मौसम सामान्य रूपमा बदली रहेको छ।
आज बागमती र गण्डकी प्रदेशका केही स्थान, साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ भने आज राति देशभर सामान्य बदली हुने देखिएको छ। कोशी र सुदूरपश्चिमलगायत पहाडी भेगमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
