दार्चुला — शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर अस्पतालका कर्मचारी तथा चिकित्सकहरूलाई ओभर टाइम भत्तामा अनियमितता गरेको आरोपमा अख्तियार अनुसन्धान आयोग, टङ्गाल काठमाडौँमा उजुरी परेको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा ओभर टाइम काम गरेबापत अस्पतालका कर्मचारीहरूलाई दिनुपर्ने ४५ लाख रुपैयाँ बराबरको भत्तामध्ये नगरपालिकाले मात्र ३२ लाख १५ हजार रुपैयाँमा सीमित गर्न निर्देशन दिएको अस्पताल स्रोतको दाबी छ।

एक जना चिकित्सकका अनुसार आफूले लिनुपर्ने ५ लाखमध्ये नगरपालिकाले मात्र १ लाख उपलब्ध गराएको छ। यस्तै अन्य प्रमुख कर्मचारीहरू— निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. मनोजबहादुर पाल, डा. उक्तमसिंह धामी र असिस्टेन्ट फार्मासिस्ट धनबहादुर रावलको भत्ता पनि यस्तै प्रकारले कटौती गरिएको जनाइएको छ।

अस्पताल प्रशासनले पारदर्शिता नहुँदै केही कर्मचारीको खातामा अनधिकृत रूपमा भत्ता रकम पुगेको दाबी गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ।

यस सम्बन्धमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शिवराज जोशीले बजेट अपुग भएकाले भत्ता कटौती गर्नुपरेको बताउँदै, १५ प्रतिशत कर कट्टीपछि रकम भुक्तानी गरिएको प्रतिक्रिया दिनुभयो।

अस्पताल प्रशासनले असार ३२ गते अख्तियारको कञ्चनपुर कार्यालय, नगरपालिका र सम्बन्धित निकायहरूमा आवश्यक कागजातसहित उजुरी दिएको जनाएको छ। उजुरीका आधारमा छानबिन प्रक्रिया अघि बढ्ने अख्तियार कार्यालय कञ्चनपुरका सूचना अधिकारी चेतराज भट्टले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय