दार्चुला — सात वर्षअघि पसिना बगाएर बनाएको झोलुङ्गे पुल सकिए पनि मजदुरले अहिलेसम्म पारिश्रमिक पाउन सकेका छैनन्। दुहुँ गाउँपालिका–२ र ५ जोड्ने थल–सिलिङ्चौरा बहुदेशीय झोलुङ्गे पुल निर्माणमा संलग्न २८ जना मजदुर अझै पनि मजदुरी नपाएर पीडित बनेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको पुल निर्माण कार्य २०७८ साल असोज ३० गते सम्पन्न भएको थियो। तर ठेकेदार सम्पर्कविहीन भएपछि मजदुरहरूले आफ्नो पसिनाको मूल्य अझै देख्न पाएका छैनन्।
पुल निर्माणको जिम्मा पाएको जगदम्बा दोभान संगम जेभीका सञ्चालक बसन्त बुढाथोकी सम्पर्कविहीन छन्। मजदुरहरूले बारम्बार फोन गर्दा पनि उहाँको मोबाइल अफ रहेको र अहिले मोबाइल नम्बर नै परिवर्तन गरी सम्पर्कबाट टाढा भएको बताइएको छ।
पुलमा काम गरेका दुहुँ–५ का जनकसिंह महराका अनुसार, उहाँको मात्रै एक लाख एघार हजार २५० रुपैयाँ लिन बाँकी छ। अर्का मजदुर गौरदत्त भट्टले २८ जना मजदुरले कूल २५ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिन बाँकी रहेको बताए।
“ज्यानको बाजी लगाएर काम गर्यौं, अहिले पैसा नपाएर पिरलोमा छौं। अब कानुनी बाटो रोज्न बाध्य हुन्छौं,” भट्टले चेतावनी दिए।
मजदुरी मात्र होइन, ठेकेदारले स्थानीय किराना तथा खाजा पसल, गिट्टी-बालुवा आपूर्ति गर्नेहरू, र ढुवानीका ट्याक्टर चालकहरूलाई समेत भुक्तानी नगरेको पीडितहरूको गुनासो छ।
कहिलेकाहीँ विरोधस्वरूप पुल नै बन्द गरिए पनि पालिकाको आग्रहमा खोलिएको मजदुरहरूले बताएका छन्। अझै लोड टेस्टसमेत नगरिएको उक्त पुलको सम्पूर्ण जिम्मा ठेकेदारको कन्धामा रहेको स्थानीयको भनाइ छ।
दुहुँ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरसिंह धामीका अनुसार ठेकेदारले पालिकाबाट ५० लाख रुपैयाँ पाउन बाँकी छ। तर लोड टेस्ट नगरेसम्म भुक्तानी रोकिने बताए। ठेकेदारको खोजीका लागि जिल्ला प्रशासन र प्रहरी कार्यालयमार्फत पटक–पटक पत्राचार गरिए पनि ठोस परिणाम नआएको उहाँले जानकारी दिए।
ठेकेदार बसन्त बुढाथोकी खोटाङ जिल्लाका निवासी रहेको बताइएको छ। अब सात वर्षसम्मको मेहनतको मूल्य कहिले मिल्छ भन्ने प्रश्नले मजदुरको मन दिनहुँ चिमोटिरहेको छ।
