दार्चुला, साउन ५ — नेपाल–चीन सीमा क्षेत्रमा रहेको टिंकर नाका मंगलबार चौथोपटक सञ्चालनमा आएको छ। चिनियाँ पक्षले नाका खुला गरेपछि दार्चुलाका २१ जना व्यापारी ताक्लाकोटतर्फ प्रस्थान गरेका छन्।
ताक्लाकोट जाने व्यापारीमध्ये ११ जना महिला र १० जना पुरुष रहेका छन्। हालसम्म टिंकर नाका दार्चुलाका स्थानीय बासिन्दाका लागि मात्रै खोलिँदै आएको छ। परम्परागत रूपमा व्यास क्षेत्रका बासिन्दासहित जिल्लाका अन्य भूभागका व्यापारीहरूले ताक्लाकोटसँग व्यापार गर्दै आएका छन्।
यसअघि चालु वर्ष असार ९ गते पहिलोपटक टिंकर नाका सञ्चालनमा आएको थियो। त्यसपछि असार १७ गते दोस्रोपटक र असार २९ गते तेस्रोपटक नाका खोलिएको थियो। मंगलबार चौथोपटक नाका खुलेसँगै थप व्यापारीहरू व्यापारिक प्रयोजनका लागि ताक्लाकोट पुगेका हुन्।
टिंकर नाका नियमित रूपमा सञ्चालन हुन थालेसँगै नेपाल–चीनबीचको परम्परागत व्यापारिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। स्थानीय व्यापारीहरूले नाका नियमित सञ्चालन भए व्यापार, रोजगारी तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
