दार्चुला, साउन ०५। माछापुच्छ्रे बैंक लिमिटेड, व्यास शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत व्यास गाउँपालिका–५, तिगरम निवासी जयानन्द जोशीको परिवारका लागि घर पुनर्निर्माण गरी आवश्यक घरायसी सामग्री हस्तान्तरण गरेको छ।


आर्थिक अभावका कारण जोशीको परिवार लामो समयदेखि अत्यन्त जीर्ण र असुरक्षित घरमा बस्दै आएको थियो। उहाँका दुई जना पूर्ण रूपमा अपाङ्ग छोरी रहेका छन्। सुरक्षित रूपमा बसोबास गर्न घरमा उचित छाना थिएन भने सुत्नका लागि बेडको व्यवस्था समेत नभएको र दैनिक जीवनका आधारभूत आवश्यकताहरू पूरा गर्न कठिनाइ भइरहेको अवस्था थियो।
यही अवस्थालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले आफ्नो CSR कार्यक्रममार्फत घरमा टिनको छाना जडान, घरभित्र कंक्रिटको फर्श निर्माण, विद्युत् जडान, सुत्नका लागि दुईवटा बेड, अपाङ्ग बालबालिकाका लागि आवश्यक लत्ताकपडा, परिवारका लागि कपडा, पोषणयुक्त खाद्य सामग्री तथा अन्य आवश्यक घरायसी सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको हो।

बैंकका अनुसार उक्त सहयोगबाट जोशी परिवारको जीवनयापन थप सुरक्षित, सहज र सम्मानजनक बन्ने अपेक्षा गरिएको छ। सहयोग प्राप्त गरेपछि जयानन्द जोशीले बैंकप्रति आभार व्यक्त गर्दै यसले आफ्नो परिवारलाई ठूलो राहत मिलेको बताए।

माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, विपन्न समुदायको उत्थान तथा सामाजिक सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
